हेटौँडा / दलित महिलामाथि हुने हिंसा, विभेद तथा न्याय र विकास प्रक्रियामा उनीहरूको पहुँचको अवस्था अपेक्षाकृत कमजोर रहेको निष्कर्षसहित मंगलबार हेटौँडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। फेडो मकवानपुर को आयोजनामा तथा गैरसरकारी संस्था महासंघ मकवानपुर र नेपाल पत्रकार महासंघ को सहकार्यमा कार्यक्रम गरिएको हो।
कार्यक्रममा सरकारी निकायले दलितसम्बन्धी गुनासो कम आएको दाबी गरे पनि सहभागीहरूले वास्तविक अवस्था त्यसभन्दा फरक रहेको बताएका छन्। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मकवानपुरमा दलितसम्बन्धी जटिल घटना कम रहेको बताए। त्यस्तै, प्रहरी प्रमुख श्यामबहादुर खत्रीले अधिकांश घटनाहरू मिलापत्रमार्फत समाधान हुने गरेको जानकारी दिए।
तर, कार्यक्रममा सहभागी प्रतिनिधिहरूले भने प्रशासनिक प्रक्रिया र अनुसन्धान पक्ष प्रभावकारी नभएको गुनासो गरेका छन्। उनीहरूले दलित समुदायसँग सम्बन्धित घटनामा न्यायिक प्रक्रिया कमजोर हुँदा पीडितले पूर्ण न्याय पाउन नसकेको धारणा व्यक्त गरे।
कार्यक्रममा नेपालको संविधान २०७२ ले दलित अधिकार सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको विषय उठाइएको थियो। स्थानीय तहदेखि समुदायस्तरसम्म दलितप्रतिको दृष्टिकोण परिवर्तन हुन नसक्दा विभेद कायम रहेको सहभागीहरूको भनाइ थियो।
दलित महिलामाथि हुने यौन हिंसाका घटना अझै लुकेरै रहने गरेको उल्लेख गर्दै यस्ता घटनालाई सार्वजनिक गरी पीडितको सशक्तिकरणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ। साथै, जिल्लाका सबै स्थानीय तहमा पुगेर तथ्याङ्क संकलन गर्नुपर्ने माग पनि गरिएको छ।
कार्यक्रममा वक्ताहरूले जातीय विभेद अन्त्यका लागि कानुनी प्रावधान कडा भए पनि त्यसको कार्यान्वयनमा कमजोरी रहेको बताएका छन्। सञ्चारकर्मीहरूले भने निष्पक्ष र तथ्यमा आधारित समाचार सम्प्रेषणमार्फत सामाजिक न्यायका मुद्दालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।


















