एसईई परीक्षा नजिकिँदै, मकवानपुरमा २८ केन्द्र निर्धारण

Image

हेटौंडा/ मकवानपुरमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि विद्यार्थी सहभागिता उल्लेखनीय देखिएको छ। नियमित, ग्रेडवृद्धि तथा प्राविधिक धार गरी कुल ७ हजार ४ सय ५५ जना परीक्षार्थीले आवेदन फारम भरेका छन्।

सम्बन्धित शिक्षा इकाईका अनुसार नियमिततर्फ ५ हजार ५ सय २७ जना, ग्रेडवृद्धितर्फ १ हजार ६ सय ५३ जना र प्राविधिक धारतर्फ २ सय ६३ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

परीक्षालाई व्यवस्थित र सहज बनाउन मकवानपुरका सबै स्थानीय तहमा परीक्षा केन्द्र तोक्ने व्यवस्था गत वर्षदेखि नै लागू गरिएको छ। सोही व्यवस्थाअनुसार यस वर्ष जिल्लाभर २८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

बागमती, बकैया, मनहरी, भीमफेदी, इन्द्रसरोवर, थाहा नगरपालिका लगायतका क्षेत्रका विभिन्न माध्यमिक विद्यालयहरूमा परीक्षा केन्द्र तोकिएका छन्। हेटौंडा उपमहानगरपालिकाभित्र पनि विभिन्न विद्यालयहरूमा केन्द्र निर्धारण गरिएको छ, जसले परीक्षार्थीलाई आफ्नै नजिकैबाट परीक्षा दिन सहज बनाउने अपेक्षा गरिएको छ।

विशेषगरी प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीहरूका लागि हेटौंडास्थित श्रमिक माध्यमिक विद्यालयमा मात्र छुट्टै परीक्षा केन्द्र तोकिएको छ।