आधारभूत सेवामा क्रान्ति: हेटौंडा–१५ मा निःशुल्क पानी, एम्बुलेन्स र रगत सुविधा सुरु

Image

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ नम्बर वडाले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका आधारभूत सेवामा राहत दिने उद्देश्यले निःशुल्क सेवा कार्यक्रम सञ्चालनमा ल्याएको छ।

वडाध्यक्ष सुनिल मोक्तानले बिहीबार आयोजित विशेष कार्यक्रममा वडावासीका लागि निःशुल्क खानेपानी, एम्बुलेन्स सेवा तथा रगत उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो।

उहाँका अनुसार अब वडाभित्रका नागरिक बिरामी भएर उपचारका लागि जहाँसुकै जाँदा लाग्ने एम्बुलेन्स खर्च वडाले नै व्यहोर्नेछ भने उपचारका क्रममा आवश्यक पर्ने रगतको खरिद खर्च पनि निःशुल्क उपलब्ध गराइनेछ।

यसैगरी, प्रत्येक घरधुरीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ। उक्त कार्यक्रमले विशेषगरी आर्थिक रूपमा कमजोर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका नागरिकलाई ठूलो राहत पुग्ने भन्दै स्थानीय बासिन्दाहरूले गरेको काम प्रति खुशी व्यक्त गर्दै अध्यक्ष मोक्तानलाई धन्यवाद व्यक्त गरेका थिए।

हाल वडाभित्र रहेका २१ टोल विकास समितिमध्ये १९ वटामा कार्यक्रम लागू भइसकेको छ। सोही कार्यक्रममा एम्बुलेन्स सेवा प्रयोग गरेका दुई परिवारलाई उपचारमा लागेको खर्चसमेत वितरण गरिएको थियो। वडाध्यक्ष मोक्तानका अनुसार करिब २ हजार ३०६ घरधुरीले यस कार्यक्रमबाट प्रत्यक्ष लाभ लिन सक्नेछन्।

कार्यक्रम सञ्चालनका लागि टोल विकास समितिमार्फत बजेट निकासा तथा व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ। गत माघ महिनादेखि सुरु गरिएको यो योजना आगामी आर्थिक वर्षहरूमा समेत निरन्तरता दिने लक्ष्य वडाले लिएको जनाएको छ।