हेटौंडा/ विद्यार्थीहरूमा व्यवहारिक सीप, वैज्ञानिक सोच तथा नवप्रवर्तनशील क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हेटौंडामा “Summer STEAM Camp & Expo–2083” सञ्चालन गरिने भएको छ। एस्ट्रोनोभा फाउण्डेशन नेपालद्वारा आयोजना गरिने उक्त कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको हो।
कार्यक्रम आगामी वैशाख ९ गतेदेखि सुरु भई ४५ दिनसम्म सञ्चालन हुनेछ। कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू यस क्याम्पमा सहभागी हुन सक्नेछन् भने SEE दिएर बसेका विद्यार्थीहरूलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ।
क्याम्पमा परम्परागत शिक्षण विधिभन्दा फरक परियोजनामा आधारित सिकाइ (Project-Based Learning) र समस्या समाधानमा आधारित अभ्यासमार्फत प्रशिक्षण प्रदान गरिनेछ। सहभागी विद्यार्थीहरूले आफ्नो रुचि अनुसार रोबोटिक्स, कोडिङ, कृत्रिम बुद्धिमत्ता (AI), ड्रोन प्रविधि, IoT, गणित, विज्ञान, इन्जिनियरिङ, कला तथा साहित्य जस्ता STEAM (Science, Technology, Engineering, Arts and Mathematics) क्षेत्रका विषयहरू छनोट गरी अध्ययन गर्न सक्नेछन्।
४५ दिने कार्यक्रममध्ये ३० दिन सघन कक्षा सञ्चालन गरिनेछ भने बाँकी १५ दिन विद्यार्थीहरूले आफ्नै परियोजना निर्माण गर्नेछन्। यसले विद्यार्थीहरूमा अनुसन्धानमुखी सोच, व्यावहारिक सीप र आत्मविश्वास अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
यस कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन (KUSoED) “Knowledge & Research Partner” का रूपमा आबद्ध रहेको छ। सहभागी विद्यार्थीहरूले प्राविधिक मार्गदर्शन प्राप्त गर्नुका साथै आफ्नो परियोजनालाई शोधपत्र (Research Paper) का रूपमा तयार गर्ने तालिम पनि पाउनेछन्।
कार्यक्रमको अन्त्यमा “Summer STEAM Expo–2083” (Science Fair) आयोजना गरिनेछ, जहाँ विद्यार्थीहरूले आफ्ना परियोजनाहरू सार्वजनिक रूपमा प्रदर्शन गर्नेछन्। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विज्ञान मेलाहरूमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ।
कार्यक्रमलाई प्रतिस्पर्धात्मक बनाउन Interest Assessment Survey (IAS) र Eligibility Assessment Test (EAT) को व्यवस्था गरिएको छ। EAT मा उत्कृष्ट प्रदर्शन गर्ने प्रत्येक विधाबाट १५ जना गरी कुल १५० विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। साथै, अन्य इच्छुक विद्यार्थीहरूका लागि सशुल्क सहभागिताको व्यवस्था गरिएको छ। District Math Olympiad (DMO–2082) मा सहभागी विद्यार्थीहरूका लागि विशेष सहुलियत पनि प्रदान गरिनेछ।
हेटौंडा उपमहानगरपालिकाले यस कार्यक्रममार्फत विद्यार्थीहरूको खाली समयलाई सिर्जनात्मक तथा उत्पादनमुखी बनाउँदै व्यवहारिक शिक्षामा जोड दिने विश्वास व्यक्त गरेको छ। आयोजकले अभिभावक तथा शिक्षकहरूलाई आफ्ना बालबालिकालाई कार्यक्रममा सहभागी गराउन आग्रह गरेका छन्।


















