हेटौंडा । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमीफाइनलमा काठमाडौँको न्यू डाइमण्ड क्लब प्रवेश गरेको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा-१०,स्थित टिसीएन चौरमा जारी दोस्रो वृहत् खेलकुद,कृषि तथा पर्यटन महोत्सवमा शुक्रबार भएको भलिबल प्रतियोगिताको समूह चरणको आफ्नो अन्तिम खेलमा जीत निकालेसँगै काठमाडौंको न्यू डाइमण्ड क्लबले सेमीफाइनलको यात्रा पूरा गरेको हो ।
शुक्रबार भएको लिगको आफ्नो दोस्रो खेलमा पाल्पाको स्टेप भलिबल क्लबलाई ३-० को सोझो सेटले पराजित गरेको छ । न्यू डाइमण्ड क्लबले पाल्पाको स्टेप भलिबल क्लबलाई २५-१८, २५-१९ र २५-४ ले पराजित गर्दै सेमीफाइनलको यात्रा पूरा गरेको हो ।
बिहीबार भएको लिगको पहिलो खेलमा न्यू डाइमण्डले आयोजक मकवानपुर जिल्ला भलिबल संघलाई पहिलो र दोस्रो सेटमा २५–६ ले पराजित गर्दा तेस्रो सेटमा २५–११ ले सहजै तरिकाले पराजित गरेको थियो । लिगको २ खेल खेलेर दुबै खेलमा जीत निकालेको न्यू डाइमण्ड समूह चरणको विजेता बन्दै सेमीफाइनको स्थान सुरक्षित गरेको हो ।
यस्तै, केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान बागमती प्रदेश र ब्राइट फ्यूचर स्पोर्ट्स क्लबको खेल वर्षाको कारणले स्थगित भएको छ । दुबै टिमबीचको खेल चौंथो सेट चलिरहँदा रोकिएको हो । पहिलो सेटमा केशवलाललाई २५-१५ ले ब्राइट फ्यूचरले पराजित गरेको थियो । त्यसपछि लगत्तै दोस्रो र तेस्रो सेटमा ब्राइट फ्यूचरलाई २५-१४ र २५-१६ ले केशवलालले पराजित गरेको हो । स्थगित खेललाई उपयुक्त मौसमा सुचारू गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले ३ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सेमीफाइनलमा पराजित हुने दुई टिमले ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत तर्फका खेलाडीहरुलाई ट्रफि, मेडल, प्रमाण पत्र र नगद प्रदान गरिने छ । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको सहकार्यमा भएको प्रतियोगितामा ६ वटा राष्ट्रिय टिमहरुको सहभागिता रहेको छ ।


















