हेटौंडा—/ बिहान सबेरै उठेर पानीको जोहो गर्नु, डोका बोकेर घण्टौं हिँड्नु र घरको आवश्यकता धान्न पानीका लागि दिनको ठूलो हिस्सा खर्चिनुपर्ने मकवानपुरको थाहा नगरपालिका–७ का स्थानीयको वर्षौंदेखिको बाध्यता अब हटेको छ। चिसापानी–मझुवा लिफ्टिङ खानेपानी परियोजना सम्पन्न भएसँगै यहाँका ४१३ परिवारको घरमा ‘एक घर, एक धारा’ पुगेको छ।
खानेपानीको स्रोत नजिक नहुँदा लामो समयदेखि समस्या झेल्दै आएका स्थानीयका लागि आयोजना सम्पन्न हुनु केवल घरमा धारा जडान हुनु मात्र होइन, दैनिक जीवनशैलीमै परिवर्तन ल्याउने उपलब्धि बनेको छ। स्थानीय उपभोक्ता तथा इन्द्रायणी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणबहादुर कार्कीका अनुसार अब घण्टौं लगाएर डोकामा पानी बोक्नुपर्ने बाध्यता अन्त्य भएको छ।
वि.सं. २०७५ सालमा निर्माण सुरु गरिएको आयोजना विभिन्न कारणले लामो समयसम्म पूरा हुन सकेको थिएन। विशेषगरी बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले बताए। आठ वर्षपछि आयोजना सम्पन्न भएपछि चिसापानीदेखि देउखेलसम्मका स्थानीयले नियमित खानेपानी पाउने अवस्था बनेको छ।
करिब ८ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा विभिन्न सरकारी निकाय, नगरपालिका, समुदाय र विकास साझेदार संस्थाको सहलगानी छ। च्वाइस नेपालले मात्रै २ करोड ५ लाख रुपैयाँ सहयोग गरेको छ। तत्कालीन जिल्ला समन्वय समिति मकवानपुरले ७० लाख रुपैयाँ उपलब्ध गराएको थियो भने बागमती प्रदेश सरकार, थाहा नगरपालिका र स्थानीय उपभोक्ताको समेत लगानी रहेको छ।
खोलाको पानी डाँडामा पुर्याएर घरघरमा वितरण
भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा निर्माण गरिएको आयोजनामा लिफ्टिङ र ग्राभिटी प्रणालीको प्रयोग गरिएको छ। करिब चार किलोमिटर टाढाको मझुवा खोलाबाट ग्राभिटी प्रणालीमार्फत पानी ल्याइएको छ। त्यही खोलाबाट करिब २ हजार २०० मिटर माथि डाँडामा डबल लिफ्टिङ गरी पानी रिजर्भ गरिएको छ।
आयोजनामा १ लाख लिटर क्षमताका दुईवटा तथा २० हजार लिटर क्षमताका दुईवटा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ। मझुवा खोलामा ४० हजार लिटर क्षमताको फिल्टरेशन ट्याङ्की र २० हजार लिटरका दुईवटा लिफ्टिङ ट्याङ्की निर्माण गरिएको छ।
त्यस्तै, आयोजनामा १० वटा बिपिटी र १२ वटा भल्भ चेम्बर निर्माण भएका छन्। करिब ७ किलोमिटर मुख्य पाइपलाइन तथा २९ किलोमिटर मुख्य वितरण पाइपलाइनमार्फत उपभोक्ताका घरसम्म पानी पुर्याइएको च्वाइस नेपालले जनाएको छ।
अब चुनौती पानी ल्याउनु होइन, आयोजना जोगाउनु
आयोजना सम्पन्न भएपछि तत्कालीन समस्या समाधान भए पनि यसको दीर्घकालीन सञ्चालन र संरक्षणलाई मुख्य चुनौतीका रूपमा हेरिएको छ। नगर प्रमुख विष्टले आयोजना सम्पन्न हुनु मात्र उपलब्धि नभई यसको दिगोपना सुनिश्चित गर्नु महत्वपूर्ण रहेको बताए।
नियमित मर्मतसम्भार, संरचनाको रेखदेख र पानीको स्रोत संरक्षणमा उपभोक्ता समुदाय सक्रिय हुनुपर्ने उनको भनाइ छ। आयोजनामा समस्या आए सामाजिक सञ्जालमा गुनासो गर्नुभन्दा सम्बन्धित निकायसँग छलफल गरेर समाधान खोज्न उनले आग्रह गरे।
च्वाइस नेपालका राष्ट्रिय निर्देशक प्रतीक शर्माले आयोजना निर्माण सम्पन्न भएपछि संस्थाको सहयोग सकिएको नठान्न आग्रह गरे। समुदायको आवश्यकता र नगरपालिकाको अपनत्वका कारण संस्थाले आयोजना निर्माणमा लगानी गरेको भन्दै उनले आगामी दिनमा पनि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाए।
थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले खानेपानी नागरिकको आधारभूत आवश्यकता भएकाले आयोजनालाई प्राथमिकताका साथ सम्पन्न गरिएको बताए। उनका अनुसार आयोजना सञ्चालन र संरक्षणमा नगरपालिका, खानेपानी बोर्ड, उपभोक्ता समिति र स्थानीय समुदायबीच निरन्तर सहकार्य आवश्यक छ। चिसापानी–मझुवा खानेपानी आयोजना उद्घाटनसँगै थाहा–७ का ४१३ परिवारले वर्षौंदेखि भोग्दै आएको पानीको संकटबाट राहत पाएका छन्।












