हेटौंडा/ हेटौँडाले कर उठाउने संयन्त्रमा मात्र सीमित नभई जनताको दैनिक जीवनसँग जोडिएका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने सामाजिक अभियन्ता तथा सेवा सहयोग आवाज नेपालका अध्यक्ष बिसालराज महतले बताउनुभएको छ।
महँगी, मिसावट र बिचौलियाको मारबाट नागरिकलाई राहत दिन हेटौँडा सुपथ खाद्यान्न तथा सार्वजनिक खाद्य वितरण केन्द्र सञ्चालन गर्नुपर्ने उहाँको सुझाव छ। स्थानीय उत्पादक, सहकारी, थोक विक्रेता र उपभोक्ता समूहसँग समन्वय गरी चामल, दाल, तेल, नून, चिनी र आटालगायत खाद्यान्न थोक मूल्यमा खरिद गरी सुलभ मूल्यमा बिक्री गर्न सकिने उहाँले बताउनुभयो।
विपन्न परिवारलाई सहुलियत कार्डमार्फत थप छुट, खाद्यान्नको गुणस्तर तथा तौल परीक्षण र खरिद–बिक्री मूल्य तथा खर्चको विवरण सार्वजनिक गर्ने व्यवस्था गर्नुपर्ने महतको प्रस्ताव छ।
उहाँले प्रारम्भमा सीमित खाद्यान्नबाट परीक्षणका रूपमा कार्यक्रम सञ्चालन गरी प्रभाव मूल्याङ्कनपछि हेटौँडाका सबै वडामा विस्तार गर्न सुझाव दिनुभएको छ। “हेटौँडाले कर उठाउने मात्र होइन, जनताको भान्सामा राहत पुर्याउने संयन्त्र पनि बनाउनुपर्छ,” महतले भन्नुभयो।
















