थाहामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेका गोपालीको मृत्यु

Image

हेटौँडा । मकवानपुरको थाहा नगरपालिका–१ बाराहीचौरमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बाराहीचौर निवासी ३० वर्षीय उत्सव गोपाली रहेका छन्।

प्रहरीका अनुसार असोज २३ गते साँझ करिब ७ बजे घरबाट करिब ५०० मिटर पूर्वमा रहेको सार्वजनिक चौरको उत्तिसको रुखमा अरिङ्गाल पोल्ने क्रममा गोपाली करिब २० फिट तल खसेका थिए।

रुखबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि ललितपुरस्थित पाटन अस्पताल पठाइएको थियो।

उनको टाउकोमा भित्री चोट लागेको र दुवै कानबाट रगत बगिरहेको थियो। बोल्नसमेत नसक्ने अवस्थामा रहेका गोपालीको असोज २४ गते बिहान करिब ३:३० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली खटिएको जनाइएको छ।