ल्याण्ड क्रुजरको ठक्करपछि मोटरसाइकल नालामा खस्यो, एकको मृत्यु

Image

हेटौँडा । भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत भीमफेदी–६ धानगोदाममा दुई मोटरसाइकल र एक ल्याण्ड क्रुजर दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो हेटौँडाबाट काठमाडौँ जाँदै गरेको बा.१२ च ४१६४ नम्बरको ल्याण्ड क्रुजरले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०१८ प ०४५९ नम्बरको जाभा मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछि नजिकैबाट आउँदै गरेको बा.५४ प २५६६ नम्बरको होण्डा मोटरसाइकलसमेत अनियन्त्रित भई सडकछेउको नालामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा जाभा मोटरसाइकल चालक हेटौँडा–५ निवासी २५ वर्षीय महेश्वर घिमिरे खत्री गम्भीर घाइते भएका थिए। हेटौँडा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

होण्डा मोटरसाइकलमा सवार मुन्ना आलम र चुन्नु आलम घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न सवारीसाधन तथा चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।