लैंगिक अल्पसंख्यक समुदायसँग मकवानपुर काग्रेस सभापति बुद्ध लामाले मागे माफी

Image

हेटौंडा ।

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग माफि मागेका छन् ।

बैशाख ६ गते नेपाली कांग्रेस मकवानपुरमा कांग्रेसका कार्यकर्ताहरुले कार्यालयमा तालाबन्दी गरेपछि सभापति लामाले ताला फोड्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको भावनालाई ठेस पुग्ने तुच्छ भाषा प्रयोग गरेका थिए ।

सभापति लामाको अभिव्यक्तिलाई लिएर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आज पत्रकार सम्मेलन गरेर कांग्रेस पार्टी कार्यालयमा धर्ना दिने तयारी गरेको थियो । तर पत्रकार सम्मेलन तथा धर्ना दिनु अघिनै सभापति लामाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई भेट गरेर माफि मागेका छन्।

सभापति लामाले आज बिहीबार यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा काम गर्ने संस्था फ्रेण्ड्स् हेटौंडाको कार्यालयमा पुगेर गल्ती महशुस गर्दै क्षमायाचना गरे ।

सभापति लामाले आफुले बोलेको शब्दले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अपमान हुने गरी असर परेकोमा माफी मागेका छन । माफी माग्दै उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सँधै सम्मान गर्ने पनि बताएका छन्।

उनले स्थानीय तह निर्वाचनको घोषणापत्रमा समेत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समेट्न अधिकतम् प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

फ्रेन्ड्स हेटौंडाका प्रमुख किरण थापाले आफ्नो समुदायले कुनै पनि पार्टी वा व्यक्तिसँग प्रतिशोध नराख्ने बताएका छन् ।  हामी कोहीसँग पनि प्रतिशोध राख्दैनौ । हाम्रो पहिचानको लडाइँ हो । अधिकारको लडाइँ हो भन्ने भनाई रहेकोथियो साथै  उनले एउटा अभियान बोकेर हिँडेको समुदायलाई विभेद नगर्न अनुरोध गरेथिए ।

सभापति लामाले फ्रेण्ड्स् हेटौंडाको हलमा बसेर केही बेर अन्तरक्रिया गरेका थिए । कार्यक्रममा कांग्रेस मकवानपुरका सचिव भीमसेन महत, अनुशासन समितिका संयोजक प्रभातकुमार दाहाल, फ्रेण्ड्स् हेटौंडाका अधिकृत वर्षा मगर, लेखा प्रमुख कुमार लामा लगायत सदस्यहरुको  उपस्थिति रहेको थियो ।