पालुङ क्याम्पसको स्ववियु निर्वाचनमा ठुलो विवाद : नेविसंघ–अनेरास्ववियु प्यानलले गर्‍यो बहिष्कार

Image

हेटौंडा/ पालुङ क्याम्पसको स्ववियु निर्वाचनलाई लिएर विवाद उत्पन्न भएको छ। नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्।
चैत्र ४ गते राति जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा नेविसंघका तर्फबाट सभापतिका उम्मेदवार रोशनी गोपाली र अनेरास्ववियुका तर्फबाट सचिवका उम्मेदवार आयाम नापितले हस्ताक्षर गरेका छन्। विज्ञप्तिमा क्याम्पस प्रशासनमाथि अनियमितता र तानाशाही शैली अपनाउँदै निर्वाचन गर्न खोजेको आरोप लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हामीले पटकपटक क्याम्पस प्रशासन र निर्वाचन अधिकृतसँग निर्वाचन प्रक्रियामा देखिएका अनियमितता, विद्यार्थी भर्नामा गरिएको अपारदर्शिता, योग्य उम्मेदवारहरूमाथि गरिएको धम्कीपूर्ण व्यवहार तथा पार्टीगत हस्तक्षेपका विषयमा छानबिन गरी समस्या समाधान गर्न माग गरेका थियौं। तर, क्याम्पस प्रशासन र निर्वाचन अधिकृतले हाम्रो जायज माग बेवास्ता गर्दै जबर्जस्ती निर्वाचन गराउन खोजिरहेका छन्। यो विद्यार्थीहरूको आधारभूत अधिकारमाथि आक्रमण हो।’

उनीहरूले चार बुँदे माग समेत अघि सारेका छन्:
• क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजीनामा।
• विद्यार्थी सूची, भर्ना प्रक्रिया र उम्मेदवार चयनमा भएको अनियमितता छानबिन गर्न स्वतन्त्र समिति गठन।
• तत्काल चुनाव कार्यक्रम खारेज गर्न।
• निष्पक्ष र विद्यार्थीमैत्री वातावरण नबनाएसम्म कुनै पनि निर्वाचन प्रक्रिया अघि नबढाउन।
यदि माग सम्बोधन नगरिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने र घोषित स्ववियु मान्य नहुने उनीहरूको भनाइ छ।

उता, क्याम्पस प्रशासनले पटकपटक छलफलको आह्वान गरे पनि वेवास्ता गरिएकाले पूर्वनिर्धारित तालिका अनुसार निर्वाचनमा जान बाध्य भएको बताएको छ। क्याम्पसद्वारा जारी मतदाता नामावलीमा ७२ जना विद्यार्थीहरूको सूची समावेश गरिएको छ।