हेटौंडा / मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडामा साइबर अपराध, कानूनी सचेतना तथा ट्राफिक नियमसम्बन्धी एकदिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रदेश युवा परिषद् मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वय तथा सामुदायिक विकास संस्था नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ रहेका थिए।
मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यम सिलवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले प्रशिक्षण प्रदान गरेका थिए। कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, तथा कक्षा ११ का विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
प्रशिक्षणका क्रममा प्रहरी उपरीक्षक खड्काले साइबर अपराधका जोखिम, कानूनी प्रावधान, तथा ट्राफिक नियमको महत्वबारे जानकारी गराएका थिए। सहभागी विद्यार्थीहरूले साइबर सुरक्षा, कानूनी प्रक्रिया, तथा ट्राफिक नियमबारे विस्तृत रूपमा जानकारी पाउने अवसर प्राप्त गरेका थिए।
कार्यक्रमको उद्देश्य युवा पुस्तालाई कानूनी सचेतना प्रदान गर्दै साइबर अपराध तथा ट्राफिक नियम उल्लंघनबाट जोगिन उत्प्रेरित गर्नु रहेको आयोजक संस्थाहरूले बताएको छ।