हेटौंडा ११ स्थित भैरव मन्दिरमा तोडफोड र चोरी, समाजमा सुरक्षा र नैतिकताको प्रश्न उठ्दै

Image

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ डाङडुङ्गे नजिकैको भैरव मन्दिरमा तोडफोड गरी मूर्ति, घण्टी लगायतका पूजासामग्री चोरी भएको घटना सार्वजनिक भएको छ। रातिको समयमा मन्दिरको ढोका फुटाएर गरिएको चोरीले स्थानीयमा चिन्ता बढाएको छ।

घटनास्थलको प्रकृति हेर्दा लागुपदार्थ सेवनकर्ताको संलग्नता हुनसक्ने आशंका गरिएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का युवा तथा खेलकुद विकास समिति अध्यक्ष प्रभाकर पुडासैनीले जानकारी दिनुभयो।

समाजमा यस प्रकारका चोरीका घटनाहरू बढ्न थालेपछि आमनागरिकबीच सुरक्षा र नैतिकताको सवाल उठ्न थालेको छ। पुडासैनीका अनुसार यस्ता घटनाहरू नियन्त्रण गर्न रातको समयमा गस्ती बढाउन पर्ने र मन्दिर तथा सार्वजनिक स्थलहरूमा विशेष निगरानी राख्नु पर्ने  भइरहेको छ।

समाजमा बढ्दो दुर्व्यसन, बेरोजगारी र संस्कारहीनता यस्ता अपराधको मूल कारण मानिँदै आएको छ। जबसम्म दुर्व्यसन नियन्त्रण गर्न सामूहिक प्रयास गरिँदैन, तबसम्म यस्ता अपराधहरू रोकिने सम्भावना न्यून देखिएको अध्यक्ष पुडासैनीले बताउनुभयो।

स्थानीय सरकारले धार्मिक स्थलहरूको सुरक्षामा विशेष ध्यान दिनु पर्ने र समुदायले पनि सजग र सतर्क रहनु आवश्यक रहेको देखिन्छ। यस्तो घटनाले “हाम्रो समाज कता जाँदैछ?” भन्ने गम्भीर प्रश्न उठाएको उहाँको भनाइ रहेको छ।