हेटौंडा/ हेटौँडा–४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासलाई प्राथमिकता दिँदै आयोजना गरेको खेलकुद कार्यक्रम अन्तर्गत एथ्लेटिक्स विधाका खेलहरू सोमबारदेखि सुरु भएका छन्। प्रतियोगिता हेटौँडाको पिप्ले–क्याम्पा रंगशालामा सञ्चालन भइरहेको छ।
कार्यक्रमको उद्घाटन हेटौँडा उपमहानगरपालिका–५ का वडाध्यक्ष सुशिल घिमिरे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले विरुवामा पानी हालेर संयुक्त रूपमा गरेका थिए। उद्घाटन समारोहमा स्काउटमा आबद्ध विद्यार्थीहरूको मार्चपासले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष जोशीले अनुशासन, मेहनत र लगनशीलता जीवनमा सफलताको मुख्य आधार भएको उल्लेख गरे। विद्यालयले अन्तर्राष्ट्रिय अभ्यासअनुसार खेलकुदलाई शिक्षासँग जोडेर अघि बढाएकोमा उनले सन्तोष व्यक्त गरे।
कक्षा ४ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी रहेको प्रतियोगितामा अन्तरसदनात्मक (हाउस) आधारमा जुनियर र सिनियर समूहमा विभिन्न खेलहरू सञ्चालन गरिँदैछ। यसअघि फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, चेस र टेबल टेनिसका खेलहरू सम्पन्न भइसकेको प्रतियोगिता संयोजक तक्षक सिम्खडाले जानकारी दिए।
खेलकुद गतिविधिमा विद्यार्थीहरूलाई उत्साहित गर्न अभिभावकहरूको समेत उल्लेख्य उपस्थिति देखिएको छ। विद्यालयका अनुसार प्रतियोगिता पुस ३० गतेसम्म सञ्चालन हुनेछ।

















