हेटौंडा । शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकतामा राख्ने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकामा नगरस्तरीय छात्र भलिवल प्रतियोगिता सुरु भएको छ। तेस्रो वडास्तरीय खेलकुद महोत्सव–२०८२ अन्तर्गत आयोजना गरिएको प्रतियोगिताको शुक्रबार नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गर्नुभएको हो।
आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा सञ्चालन भइरहेको प्रतियोगितामा नगरभित्रका १४ वटा विद्यालयका टिमहरूको सहभागिता रहेको छ। प्रतियोगिता ४ नं. वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको संयोजन तथा आधुनिक राष्ट्रिय माविको व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगिता संयोजक राजाराम पोखरेलले जानकारी दिनुभयो।
माघ २ र ३ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन समारोह ४ नं. वडा अध्यक्षको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा ११ नं. वडा अध्यक्ष जुना दाहाल, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईं, श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल, शिक्षक कृष्णगोपाल श्रेष्ठलगायतको उपस्थिति थियो।
कार्यक्रमको अध्यक्षता आधुनिक राष्ट्रिय मावि व्यवस्थापन समिति अध्यक्ष समीम महोमदले गर्नुभएको थियो। आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रति रुचि बढाउनुका साथै अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।















