थाहा नगरपालिकाको आयोजनामा आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता हुँदै

Image

हेटौंडा/ मकवानपुरको थाहा नगरपालिका–३, घट्टेचौरस्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा अन्तर माध्यमिक विद्यालयस्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता–२०८२ थाहा नगरपालिकाको आयोजनामा तथा जनकल्याण माध्यमिक विद्यालयको ब्यबस्थापनमा हुने भएको छ।

विद्यालयले सार्वजनिक गरेको सूचनाअनुसार उक्त प्रतियोगिता थाहा नगरपालिकाका मेयर विष्णु बहादुर विष्ट ‘आदर्श’ को प्रमुख आतिथ्यतामा सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन कार्यक्रम २०८२ साल माघ १५ गते बिहान १०:३० बजे हुने छ भने समापन कार्यक्रम माघ १७ गते दिउँसो १२:३० बजे सम्पन्न हुने जनाइएको छ।

कार्यक्रम जनकल्याण माध्यमिक विद्यालयको परिसरमै आयोजना गरिनेछ। विद्यालय प्रशासनले प्रतियोगिताले विद्यार्थीमा खेलकुदको विकास, अनुशासन र आपसी सद्भाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ।

विद्यालयका प्रधानाध्यापक तथा विद्यालय परिवारले प्रतियोगितालाई सफल बनाउन शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय समुदाय तथा सरोकारवालाहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आग्रह गरेका छन्।