हेटौंडा । हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलले गुणस्तरीय र उत्कृष्ट खेलाडी उत्पादनका लागि विद्यालय तहबाटै खेलकुदलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन्। भुटनदेवी माध्यमिक विद्यालय, हेटौंडा–४मा शुरु भएको प्रथम सप्ताहव्यापी खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले शिक्षा र खेलकुदलाई समानरूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
अध्यक्ष सिग्देलका अनुसार विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा अतिरिक्त गतिविधिको भूमिका महत्त्वपूर्ण रहने हुँदा विद्यालयले नियमित रूपमा खेलकुद कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। “शिक्षालाई सार्थक बनाउन खेलकुद अपरिहार्य छ। विद्यालयमै खेलकुदको पाठ्यक्रम राख्नुपर्छ,” उनले भने।
कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू राजेन्द्रकुमार बस्ताकोटी, नारायणप्रसाद तिमल्सिना, कृष्ण कँडेल तथा अनुगमन समिति संयोजक ईन्द्रप्रसाद नेपालको आतिथ्यता रहेको थियो। कार्यक्रम विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो।
सप्ताहव्यापी प्रतियोगितामा विभिन्न खेल विधाहरू समावेश गरिएको छ। साथै माघ २३ र २४ गते विद्यालयले नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको खेलकुद शिक्षक प्रकाश सुवेदीले जानकारी दिए।















