हेटौंडा/ शिक्षा र खेलकुदलाई जोड्नुपर्ने हेटौंडा–४ का वडा अध्यक्ष सिग्देलले बताउनुभएको छ। शुक्रबार नगरस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष सिग्देलले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि शिक्षा र खेलकुदलाई सँगै अघि बढाउन आवश्यक रहेको प्रष्ट पार्नुभयो।
अतिरिक्त क्रियाकलापको माध्यमबाट शिक्षामा गुणस्तर सुधार गर्ने उद्देश्यले वडा कार्यालयले विभिन्न खेलकुद तथा अन्य सह–पाठ्यक्रमिक गतिविधि संचालन गर्दै आएको पनि उहाँको भनाइ थियो।
वडा कार्यालयको आयोजनामा, शैक्षिक गुणस्तर सुधार समितिको संयोजनमा र भुटनदेवी माविको व्यवस्थापनमा नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा ६ वटा विद्यालय सहभागी रहेको र माघ २३ र २४ गते दुई दिनसम्म भुटनदेवी माविको मैदानमा खेलहरू भइरहेको खेलकुद संयोजक राजाराम पोखरेलले जानकारी दिनुभयो।
उद्घाटन कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, वडा कार्यालयका सचिव रामप्रसाद गसरागाईं, आधुनिक राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष महमद समिम खान, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ का संयोजक तथा श्रमिक माविका प्रअ श्रीराम दाहाल, आधुनिक राष्ट्रिय माविका प्रअ रामसागर गुरागाईं, चन्द्रोदय माविका प्रअ जीधराज ढकाल, नगर टनेल विकास समन्वय समितिका महासचिव शिवहरि दाहाल, भुटनदेवी मावि व्यवस्थापन समितिका सदस्य राजेन्द्रकुमार बस्ताकोटी लगायतको उपस्थिति थियो।
उद्घाटन कार्यक्रम भुटनदेवी माविका प्रअ सूर्यप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको भुटनदेवी माविका सह–प्रअ भरत पोखरेलले जानकारी दिनुभयो।















