बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौट खेल अन्तर्गत बैतडी फाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा कैलालीलाई ३२ रनले हराउँदै बैतडी फाइनलमा प्रवेश गरेको हो।
प्रतियोगिताको फाइनल खेल मंगलबार आज बिहान ९ बजेदेखि सुरु भएको छ । फाइनलमा बैतडी र कञ्चनपुर भिड्दै छन्। कञ्चनपुर समूह ए बाट र बैतडी समूह बी बाट शिर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। पुस १४ गतेदेखि सुरु भएको प्रदेशस्तरीय छनौट प्रतियोगितामा सुदूरपश्चिमका ८ जिल्लाका टोलीको सहभागिता रहेको थियो।
प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनौट गरी सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ। उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ। नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ गतेदेखि काठमाडौंमा हुँदैछ।

















