काठमाडौं
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले आज बुधबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
युएईको सारजाहमा नेपालले पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
नेपालले यस अघि पीएनजीविरुद्ध दुई एकदिवसीय खेल खेलेको छ । दुबै खेलमा नेपालले जित निकालेको छ । जसको कारण पनि नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ ।
गत वर्षको ७ सेप्टेम्बरमा भएको खेलमा नेपालले २ विकेटको जित निकाल्दा १० सेप्टेम्बरमा भएको अर्को खेलमा १ सय ५१ रनको जित निकालेको थियो। त्यसैले नेपाल सोही प्रदर्शनलाई कायम राख्ने ध्याउनमा रहेको छ।
पहिलो पटक एदिवसीय क्रिकेटमा सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिन लागेको नेपाल विश्वकप यात्राको महत्वपुर्ण श्रृंखलामा सतप्रतिशत नतिजाको प्रतिक्षामा रहेको छ। त्यसो त सिरिजमा खराव लयमा रहेको पीएनजीपनि नेपाललाई हराएर पहिलो जित निकाल्दै श्रृखलामा उपस्थीती देखाउन चाहन्छ।
त्यसो त नेपालले लगभग ६ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल्न लागेकाले स्वभाविक रुपमा नेपालको प्रदर्शनलाई लिएर संसय रहेनेनै छ।
त्यसमा पनि श्रीलंकामा खेलेका केहि अभ्यास खेलको अस्थिर प्रदर्शन नेपालको टाउको दुखाइ बनेको छ। नेपालले अन्तिम पटक गत भदौमा एकदिवसीय अन्तराष्ट्रिय खेलेको थियो ।
तर, नेपालले सिरिजको तयारीका लागि श्रीलंकामा ४ अभ्यास खेल खेलेको थियो । जसमा नेपालले ३ खेल जित्दा अन्तिम खेलमा पराजित भएको थियो ।
सबै भन्दा कम खेल खेलेकाे नेपालले लिग टु मा ८ खेलमा ८ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । अंक विहीन पीएनजी १३ खेल खेल्दै पुछारमा रहेको छ । नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ ।
यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ । लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन् ।













