काठमाडौं।
यूएईमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार पपुवा न्युगिनी (पीएनजी)लाई २ विकेटले हराउँदै त्रिकोणात्मक सिरिजमा विजयी सुरुवात गरेको हो।
पीएनजीले दिएको २ सय ५ रनको लक्ष्य नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। नेपालका लागि रोहितकुमार पौडेल र आरिफ शेखले अर्धशतकीय पारी खेले।
पौडेलले ८५ बलमा ४ चौकासहित ५८ रन बनाउँदा आरिफले ८१ बलमा २ चौकाको मद्दतमा ५३ रनको योगदान दिए। रोहित र आरिफले पाँचौं विकेटका लागि १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका हुन्।
यस्तै, करण केसीले पनि उत्कृष्ट ब्याटिङ गरे। उनले २५ बलमा २ छक्का र १ चौकाको मद्दतमा अविजित २९ रन बनाउँदै नेपाललाई रोमाञ्चक जित दिलाए।
पीएनजीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले सर्वाधिक २/२ विकेट लिए। यसअघि यूएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो।
उसका लागि चार्ल्स अमिनीले अर्धशतकीय पारी खेले। उनले ८२ बलमा ७ चौकासहित ५९ रनको योगदान दिए। यो उनको तेस्रो वानडे अर्धशतक हो। यस्तै, चाड सोपरले ३५, टोनी उराले २७, लेगा सियाकाले २५, नर्मन भानुआले २३ र असद भालाले १९ रन बनाए। बाँकी ब्याटर दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा ४८ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए। यस्तै, कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल र आरिफ शेखले १–१ विकेट लिए।
यस जितसँगै नेपालले लिग–२ मा दुई अंक थप जोडेको छ। लिग–२ मा नेपालले ९ खेलमा ५ खेलमा जित र ४ खेलमा हार बेहोरेको थियो।
अब नेपालले दोस्रो खेलमा घरेलु टोली युएईसँग शुक्रबार खेल्नेछ । यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।