काठमाडौं ।
नेपालले भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो हार व्यहोरेको छ । भारतको जमसेदपुरमा बिहीबार भएको खेलमा बंगलादेशसँग ४-२ ले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।
बंगलादेशलाई जित दिलाउन अफिदा खानडकार, अक्लिमा खातुन, इटि खातुन र साहदा अख्तर रिपाले एक एक गोल गरिन् ।
नेपालका लागि दिपा शाही र अमिशा कार्कीले एक एक गोल फर्काइन् ।खेलको पहिलो मिनेटमै अफिदाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।
तर, ३० औं मिनेटमा दिपाले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याइन् । ३३ औं मिनेटमा अक्लिमाले गोल गर्दै बंगलादेशलाई २-१ को अग्रता दिलाइन् । खेलको ३४ औं मिनेटमा इटिले गोल गरेपछि बंगलादेश ३-१ ले अघि रह्यो ।
खेलको ४३ औं मिनेटमा साहदाले ग्ल गर्दै बंगलादेशलाई ४-१ को अग्रता दिलाइन् । त्यसपछि खेलको इन्जुरी समयमा अमिशाले एक गोल गरेपनि नेपाल ४-२ ले पराजित भयो ।
यस हारसँगै नेपालले दुई खेलमा अंक जोड्न सकेको छैन । नेपाल अंक तालिकाको पुछारमा रहेको छ । पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७-० गोल अन्तरले पराजित भएको थियो।
बंगलादेशले भने विजयी सुरुआत गरेको छ । पहिलो खेलमै बंगलादेशले ३ अंक जोडेको छ । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।
अब नेपालले तेसो खेलमा मार्चमा २१ मा भारतसँग खेल्नेछ । यस्तै नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ । शीर्ष टोलीले उपाधि जित्नेछ ।