‘एसिया कप’ टी–२० प्रतियोगिता श्रीलंकामा हुने, यी ६ टिमले खेल्ने

Image

काठमाडौं।

एसीसी एसिया कप क्रिकेट श्रीलंकामा आयोजना हुने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) को बैठकले एसिया कप क्रिकेट श्रीलंकामा गर्ने निर्णय गरेको हो।

टी–२० फर्म्याटमा आयोजना हुने एसिया कप अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुनेछ। एसिया कपमा एसियाको टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने एक राष्ट्र गरी ६ टिम सहभागी हुनेछन्।

छनोट प्रतियोगिता अगष्ट २० अगाडि हुने एसीसीले जनाएको छ। प्रतियोगितामा सामेल हुने छैटौं टोली यूएई, कुवेत, सिंगापुर र हङकङमध्ये एक हुनेछ। यस्तै, बैठकले कतार क्रिकेट एसोसियसनलाई एसीसीको पूर्ण सदस्यता प्रदान गर्ने निर्णय गरेको छ।

एसिया कपको पछिल्लो संस्करण २०१८ मा यूएईमा भएको थियो। त्यसयता यो प्रतियोगिता खेलिएको छैन। एसिया कप एकदिवसीय प्रतियोगिता थियो। तर सन् २०१६ मा यो पहिलो पटक टी–२० ढाँचामा खेलिएको थियो।

यो वर्षको प्रतियोगिता दोस्रो पटक टी–२० ढाँचामा खेलाइँदैछ। सन् २०२० को संस्करण कोरोना भाइरसका कारण एक वर्षपछि सारिएको थियो। त्यसपछि २०२१ को टी–२० विश्वकपका कारण गत वर्ष पनि यो प्रतियोगिता हुन सकेन।

सन् १९८४ मा सुरु भएको प्रतियोगिता सामान्यतया दुई वर्षको अन्तरालमा खेलाइन्छ तर कहिलेकाहीँ अन्तराल बढेको छ। सन् २००० देखि २००८ सम्म चार वर्षको अन्तरालमा प्रतियोगिता आयोजना गरिएको थियो। सन् २०१० बाट दुई वर्षको अन्तराल थियो तर विभिन्न कारणले प्रतियोगिता चार वर्षपछि फेरि खेलाइने भएको छ।

प्रतियोगितामा १२ पटक सहभागी भएको भारतीय टोलीले सबैभन्दा धेरै पटक उपाधि कब्जा गरेको छ भने पाँच पटक उपाधि जितेको श्रीलंकाको टोली दोस्रो स्थानमा छ।

सन् २०१८ मा भएको अन्तिम प्रतियोगिताको फाइनल भारतले जितेको थियो। पाकिस्तान दुई पटक च्याम्पियन बनेका छन्। बंगलादेश तीन पटक उपविजेता बनेको छ।