आईसीसी क्रिकेट विश्वकप लिग–२ मा पीएनजीसँग घरेलु मैदानमै हारेपछि नेपालकाे नाम लिँदै यस्तो भन्छन् कप्तान राजा

Image

काठमाडौं।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा पपुवा न्युगीनी (पीएनजी) सँग यूएई पराजित भएको छ। शनिबार दुबईमा भएको खेलमा यूएई पीएनजीसँग ६ विकेटले हारेको हो।

लिग–२ मा पीएनजीले लिगमा पहिलो जित हात पारेको छ। यसअघि पीएनजीलेले खेलेका १४ खेलमा नै हार बेहोरेको थियो। यूएईले दिएको १ सय ४८ रनको सामान्य लक्ष्य पछ्याएको पीएनजीले ३६. २ ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन बनायो।

पीएनजीको जितमा कप्तान असद भालाले अर्धशतकीय पारी खेले। उनले ९७ बलमा ६ चौकासहित नटआउट ६८ रनको योगदान दिए। यो उनको पाँचौं एकदिवसीय अर्धशतक हो।

यस्तै, चार्ल्स अमिनीले ३६, रायली हेकरले १६, लेगा सियाका र टोनी उरा समान १०–१० रन बनाए। यूएईका लागि काशिफ दाउद, रोहन मुस्तफा र कप्तान अहमद राजाले समान १–१ विकेट लिए।

पीएनजीसँग हारेपछि यूएईका कप्तान अहमद राजाले आफ्नो प्रतिक्रिया दिएका छन्। खेलपछिको पोस्ट म्याच प्रेजेन्टेसनमा राजाले बोर्डमा पर्याप्त रन बनाउन नसक्दा हारिएको बताएका हुन्।

‘डिफेन्ड गर्नका लागि पर्याप्त रन भएन। हामीले बलिङचाहिँ राम्रो नै गरेको हौं’ उनले भने,‘तर हामीले ब्याटिङमा भने राम्रो प्रदर्शन गर्न सकेनौं।’ यसका साथै उनले रोहन मुस्तफाको ब्याटिङको प्रशंसा गरेका छन्। ‘मुस्तफाले निकै राम्रो ब्याटिङ गरेका हुन्। उनले र बासिल हमिदले राम्रो साझेदारी गरे। तर, बासिल अचानक रन आउट हुँदा टिम दबाबमा आयो। फेरि अन्तिम विकेटको लागि राम्रो साझेदारी भयो रोहन र जाहुर खानबीचमा।’

३६.३ ओभरमा ७७–९ को खराब अवस्थाबाट यूएईलाई मुस्तफाले अन्तिम विकेटका खानसँग मिलेर ७० रनको साझेदारी गर्दै मध्यम योगफलमा पुगाएका थिए। ७० मध्य २ रन मात्र जहुरले बनाएका थिए। खानले १९ बलमा अविजित रहँदै २ रन बनाएका थिए। यूएईका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पीएनजीका कप्तान असद भालाले उत्कृष्ट बलिङ गरेको राजाको भनाइ छ। उनले नेपालसँगको आउँदो खेल जित्दै सिरिजको अन्त्य गर्ने बताएका छन्। ‘अब हामी दुई दिन रेष्ट गर्छौं। अब अन्तिम खेल नेपालसँग छ। त्यो खेल जित्दै सिरिजमा सुखद् अन्त्य गर्ने लक्ष्यमा छौँ।

यूएई १७ खेलमा ९ जित निकाल्दै २० अंकका साथ दोस्रो स्थानमा छ। लिग–२ को शीर्ष स्थानमा ओमान रहेको छ। अब यूएईले सोमबार नेपालसँग खेल्नेछ।

पीएनजीले अन्तिम खेलमा मंगलबार नेपालको सामना गर्नेछ। लिग–२ मा कुल ७ टिम सहभागी छन्। नेपालले १० खेलमा १० अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ।