काठमाण्डाैं
हालै मात्र लामाे समयपछि नेपाली राष्ट्रिय फुटबल टिमले मरिसससँग मैत्रीपूर्ण खेल्याे । मरिसससँग खेलेका दुबै मैत्रीपूर्ण खेलमा नेपालले जित हात पार्याे । घरेलु मैदानमा घरेलु दर्शककाे साथ र सुधारिँदै गएकाे नेपाली फुटबल टिमले जित हात पार्न सफल बन्याे ।
नेपाली टिमकाे मुख्य प्रशिक्षककाे रुपमा अब्दुल्लाह अल्मुताईरी आएदेखी एकपछि अर्काे गर्दै नेपाललाई मैत्रीपूर्ण खेलका लागि नेपाललाई निम्ताे आईरहेकाे छ । त्याे पनि आफु भन्दा बलिया देशले मैत्रीपूर्ण खेलकाे निम्ताे स्वीकार गर्ने तथा निम्ताे दिने क्रम तिब्र हुन थालेकाे छ ।
फिफा वरीयतामा नेपालभन्दा धेरै नै माथि रहेकाे थाईल्याण्डले नेपालकाे निम्ताे स्वीकार गरिसकेकाे छ । अबकाे केही दिनपछि थाईल्याण्डसँगकाे मैत्रीपूर्ण खेलका लागि नेपाली टिम थाईल्याण्ड जानेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले चैत दोस्रो साता थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको हो। खेल मार्च २४ (चैत १०) मा थाइल्यान्डको चोन बुरीमा हुनेछ।
त्यसपछि नेपालले मार्च २७ मा स्थानीय टिमसँग प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ। स्थानीय चोन बुरी एफसीसँग नेपालले प्रतिस्पर्धा गर्नेछ।
यसैगरी फिफा वरीयतामा नेपाल भन्दाअगाडी रहेकाे फिलिपिन्सले पनि नेपाललाई मैत्रीपूर्ण खेलका लागि निम्ताे दिएकाे छ । याे कुराकाे पुष्टि प्रशिक्षक अल्मुताईरीले गरेका छन् ।
उनले आफुलाई त्यहाँका मुख्य प्रशिक्षकले फाेन गरेकाे नेप्लेज टीभीसँगकाे कुराकानीका क्रममा जानकारी दिएका छन् । तर याे निम्ताेलाई अल्मुताईरीले स्वीकार गरिसकेका छैनन् । किनभने मुखैमा एसियन कप छनाेट आएकाे छ । समय भएमा मात्र साे खेल हुनेछ ।
फिफा वरीयतालाई आधार मानेर हेर्दा थाईल्याण्ड नेपाल भन्दा निकै बलियाे टिम हाे । फिफाकाे वरीयता अनुसार नेपाल १६७ औंं स्थानमा छ भने थाइल्यान्ड ११२औं स्थानमा छ। यसैगरी निम्ताे दिएकाे फिलिपिन्स पनि नेपाल भन्दा बलियाे टिम हाे । फिफा वरीयतामा फिलिपिन्स १२९औं स्थानमा रहेकाे छ ।
यस अर्थमा थाइल्याण्ड र फिलिपिन्स दुबै देशका टिम नेपाल भन्दा बलिया टिम हुन् । तर बलिया टिमले नेपालकाे निम्ताे स्वीकार्ने तथा नेपाललाई निम्ताे दिने काम किन गरिरहेका छन् त ?
याे प्रश्नकाे जवाफ प्रशिक्षक अल्मुताईरीले नै दिएका छन् । पछिल्लाे साफ च्याम्पियनसिपमा नेपालले देखाएकाे प्रदर्शन देखेर नै उनीहरुले नम्ताे स्वीकार्ने तथा निम्ताे दिने गरेकाे उनले साेही कुराकानीमा बताएका छन् ।
नेपालले एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणको छनोटको तयारीका लागि थाइल्यान्ड भ्रमण गर्दैछ । त्यसैलाई मध्येनजर गर्दै त्यहाँ नेपालले याे मैत्रीपूर्ण खेलकाे ठूलाे अवसर पाउन लागेको हो। यसैगरी सकभर नेपाली टिमले फिलिपिन्ससँग पनि खेल्ने छ ।
छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन्। यो समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू ८ जुनमा सुरु भएर १४ जुनमा सकिनेछन्।
नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
समूहमा शीर्ष हुने टिम एसियन कपका लागि छनोट हुनेछ। दोस्रो हुने टिमको पनि छनोट हुने सम्भावना हुनेछ। तेस्रो चरणमा प्रतिस्पर्धा हुने ६ समूह मध्ये दोस्रो हुने उत्कृष्ट पाँच टिम एसियन कपमा छनोट हुनेछन्। यसअघि नेपालले गत असारमा दोस्रो चरणमा प्रतिस्पर्धा गरको थियो।
पाँच टिम रहेको समूहमा चौथो भएको नेपाल तेस्रो चरणका लागि छनोट भएको थियो। नेपालले दोस्रो चरणमा पनि कुवेत र जोर्डनसँग प्रतिस्पर्धा गरेको थियो। दुवै टिमसँग नेपाल दुवै लेगको खेलमा पराजित भएको थियो।













