काठमाडौं ।
माल्दिभ्समा जारी दिवेही प्रिमियर लिगमा माजिया स्पोर्ट्स एण्ड रि–क्रियसनले फराकिलो जित हात पारेको छ । उसले शनिबार राति क्लब भ्यालेन्सियाविरुद्ध ४–० अन्तरको जित हात पारेको हो ।
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङआवद्ध माजियाको जितमा कर्नेलियस स्टीवर्ट, टाना डोमिन्गुएज, अक्रम अब्दुल घनी र असदुल्ला अब्दुल्लाले एकरएक गोल गरे । पहिलो हाफमा १–० ले अगाडि रहेको माजियाले दोस्रो हाफमा ३ गोल गर्न सफल भयो।
भ्यालेन्सियाविरुद्धको खेलमा पनि किरणको प्रदर्शन शानदार रह्यो । उनले टिमको सातौँ खेलमा पनि विपक्षी टिमका कुनै पनि खेलाडीलाई गोल गर्न दिएनन् । किरणले खेलेको ७ म्याचमध्ये एक खेलमा मात्र विपक्षी खेलाडीले एक गोल गर्न सफल भएका छन्।
गत बुधबार भएको युनाइटेड भिक्टोरी क्लबविरुद्धको खेलमा मात्र किरणले विपक्षी खेलाडीको प्रहार रोक्न सकेका थिएनन् । जारी प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा माजियाले सुपर युनाइटेड स्पोर्ट्सलाई १–० ले हराएको थियो।
दोस्रो खेलमा उसले इगल्सलाई २–० ले हरायो । तेस्रो खेलमा माझियाले टीसी स्पोर्ट्स क्लबलाई ३–० गोल अन्तरले हराउन सफल भयो । उसले आफ्नो चौथो खेलमा दा ग्राण्डेलाई पनि ३–० गोल अन्तरले नै पाखा लगाएको थियो।
पाँचौं खेलमा माजियाले युनाइटेड भिक्टोरी क्लबलाई २–१ गेल अन्तरले हराएको थियो । उसले छैटौं खेलमा ग्रीन स्ट्रिट्सलाई ६–० ले हराएको थियो । माजिया अंक तालिकाको शीर्ष स्थानमा छ । ऊ गत संस्करण विजेता टोलीसमेत हो । प्रतियोगितमा ८ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।













