तेस्रो खेलमा यूएईविरुद्ध यस्तो हुनसक्छ नेपालको प्लेइङ–११

Image

काठमाडौं ।

आईसीसी विश्वकप लिग–२ को एकदिवसीय त्रिकोणात्मक सिरिजमा नेपालले तेस्रो म्याच यूएईविरुद्ध खेल्ने तालिका छ । नेपाल र घरेलु टोली यूएईबीचको खेल सोमबार बिहान ११ः१५ देखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ।

यही मैदानमा सिरिजको दोस्रो खेलमा यूएईविरुद्ध नेपाल ४८ रनले पराजित भएको थियो । दुबईको पिच ब्याटिङभन्दा बलिङ अनुकूल देखिएको छ । शनिबारको खेलमा यही मैदानमा पिएनजीविरुद्ध यूएईले १४७ रन मात्र बनाउन सक्यो।

नेपालले दोस्रो खेलमा यूएईले दिएको १६९ रनको लक्ष्य पछ्याउँदा १२० रन मात्र बनाउन सकेको थियो । पिचको मागअनुसार खेल्न नसक्दा नेपाल सो ‘लो स्कोरिङ म्याच’ मा पनि फराकिलो हार बेहोर्न बाध्य भयो।

तेस्रो खेलमा नेपालले सो गल्ती दोहोर्याउनुहुन्न । सम्हालेर खेल्दै सिंगल/डबलमा ध्यान दिन सके नेपालले खेलमा जित दर्ता गर्न सक्छ । तेस्रो खेलमा नेपालले प्लेइङ–११ मा केही परिवर्तन गर्ने सम्भावना छ।

सोमबारको खेलमा नेपालले सागर ढकाललाई विश्राम दिएर थप एक ब्याटरलाई मौका दिनसक्छ । उनको स्थानमा भीम सार्की, विवेकुमार यादव, पवन सर्राफ र विनोद भण्डारीमध्ये एकले अवसर पाउन सक्छन् । विनोद लयमा नरहेकाले सागरको स्थान पवन, विवेक र भीममध्ये एक खेलाडीले लिने सम्भावना उच्च।

हालसम्म विश्वकप लिग–२ मा नेपालले १० म्याच खेलेको छ । जसमा पाँचमा जित र पाँच खेलमा हार बेहोरेको छ । जारी सिरिजमा नेपालको लक्ष्य चारवर्ट म्याच जित्ने थियो । तर, दोस्रो खेलमा नेपाललाई धक्का लाग्यो।

अब बाँकी दुवै खेलमा जित हात पार्दै नेपाललाई अंक तालिकामा सुधार गर्ने मौका कायमै छ । अहिले नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । यदि जारी सिरिजको बाँकी दुवै खेल राम्रो नेट रनरेटका जित्नसके अंक तालिकाको चौथो स्थानमा पनि उक्लिन सक्छ।

यूएईविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख (विकेटकीपर), रोहितकुमार पौडेल, आरिफ शेख, विवेककुमार यादवरपवन सर्राफरभीम सार्की, करण केसी, सोमपाल कामी र कमलसिंह ऐरी ।