काठमाडौं ।
झापामा आयोजना हुने दमक गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । आयोजक नगर खेलकुद विकास समिति दमकले चैत ९ देखि १८ गतेसम्म आयोजना हुने गोल्डकपको खेल तालिका सार्वजनिक गरेको हो ।
गोल्डकपको उद्घाटन खेलमा आयोजक दमक -११ र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दमक नगरपालिका ३ दुम्सेमा प्रस्तावित मदन भण्डारी रंगशालामा आयोजना हुने गोल्डकपमा ‘ए’ डिभिजनका ५, विदेशी तीनसहित १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा लिग विजेता मच्छिन्द्र, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, फ्रेन्डस् क्लब, वाग्मती क्लब सर्लाही, आयोजक दमक-११, भारतको मानेभञ्ज्याङ फुटबल क्लब, दुर्गापुर स्टील कोलकात्ता र एमेनियर फुटबल क्लब क्यामरुन सहभागी छन्।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइनेछ।
यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन्।