आईपीएल खेल्नुअघि लयमा रबाडा, बंगलादेशविरुद्ध गरे शानदार बलिङ

Image

काठमाडौं ।

एकदिवसीय सिरिजको दोस्रो खेलमा बंगलादेशले घरेलु टोली दक्षिण अफ्रिकासामु १ सय ९५ रनको लक्ष्य पस्तुत गरेको छ । जोहानसबर्गमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन बनायो ।

उसका लागि अफिफ हुसेन अर्धशतकीय पारी खेले । उनले १०७ बलमा ९ चौकाको मद्दतमा ७२ रन बनाए ।
त्यस्तै, मेहेदी हसनले ३८, महमुदूल्लाहले २५, लिटन दासले १५ र मुस्फिकुर रहिमले ११ रनको योगदान दिए । बंगलादेशका शीर्ष क्रमका ब्याटरले आज खासै योगदान दिन सकेनन् ।

बलिङमा तीव्र गतिका कागिसो रबाडाले उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा ३९ रन खर्चदै ५ विकेट हात पारे । रबाडाले लिटन दास, शाकिवअल हसन, अफिफ होसेन र मेहदी हसनलाई आउट गरेका थिए । आसन्न सिजनको आईपीएलमा रबाडाले पञ्जाब किंग्सबाट खेल्दै छन् ।

उनलाई पञ्जाबले अक्सनबाट ९ करोड २५ लाख भारुमा अनुबन्ध गरेको थियो । यस्तै, लुंगी एनगिडी, तबरेज शम्सी, वार्ने पार्नेल र रस्सी भान डर दुसेनले १/१ विकेट हात पारे ।

तीन खेलको सिरिजमा बंगलादेशले १–० ले अग्रता बनाएको छ । पहिलो खेलमा उसले दक्षिण अफ्रिकालाई ३८रनले हराएको थियो । सिरिजमा जीवितै रहन दक्षिण अफ्रिकाले आजको खेल जित्नैपर्ने हुन्छ ।