बलियो टोली थाइल्याण्डसँग खेल्नुअघि यस्तो भन्छन् कोच अल्मुताइरी

Image

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरेको छ । आइतबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा खेलाडीको बिदाइ गरिएको हो । ३४ सदस्यीय टोली सोमबार (भोलि) थाइल्याण्ड प्रस्थान गर्नेछ ।

नेपालले थाइल्याण्डसँग १० चैतमा अन्तर्राष्ट्रियस्तरमा मैत्रीपूर्ण र थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबरी एफसीसँग १३ चैतमा खेल्नेछ । दुवै खेल चोनबरीमा हुनेछ । यस पछि नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल खेल्नेछ । समूह ए मा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

फिफा वरीयताको आधारमा नेपालभन्दा थाइल्यान्ड बलियो टिम हो । फिफा वरीयतामा थाइल्यान्ड ११२औं स्थानमा छ । नेपाल ५५ स्थान तल १६७औं स्थानमा छ । थाइल्याण्डले पछिल्लोपटक गत जनावरी १ मा आसियन क्षेत्रको एएफएफ कपको फाइनलको दोस्रो लेगमा इन्डोनेसियासँग प्रतिस्पर्धा गरेको थियो ।

सिंगापुरको कालाङमा भएको दोस्रो लेग २–२ गोलको बराबरीमा सकिएको थियो । डिसेम्बर २९ मा भएको पहिलो लेगमा ४-० ले विजयी भएको थाइल्यान्ड समग्रमा ६–२ ले विजयी हुँदै च्याम्पियन बनेको थियो ।

थाइल्यान्ड उड्नुअघि के भन्छन् काेच अलमुताइरी?

थाइल्यान्ड उड्नुअघि नेपालका प्रशिक्षक अलमुताइरीले नेपालको तयारी राम्रो भएको बताए । ‘हामीले यहाँ एक साताको अभ्यास गर्‍यौं । अब त्यहाँ ८ दिन बस्नेछौं । हाम्रो लागि थाइल्यान्डसँगको पहिलो खेल महत्वपूर्ण छ। किनभने थाइल्यान्डले इन्डोनेसियासँग खेलेको थियो अनि एसियन कप छनोटमा हाम्रो समूहमा इन्डोनेसिया पनि छ,’ अलमुताइरीले भने ।

उनले ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका खेलाडी टिममा उपलब्ध हुन नसकेकाले युवा खेलाडीलाई मौका दिएको बताए । मछिन्द्रले एएफसी कपका लागि तयारी गरिरहेकाले राष्ट्रिय टिममा उनीहरू उपलब्ध हुन नसकेका हुन् । मछिन्द्रले चैत २२ मा एएफसी कप छनोटको प्रारम्भिक चरणअन्तर्गत श्रीलंकाको ब्लूस्टार एफसीसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ ।

अलमुताइरी विशेषगरी आगामी जुनमा हुने एसियन कपमा केन्द्रीत छन् । त्यसैले थाइल्यान्डविरूद्धको खेलभन्दा बढी एसियन कपका ध्यान दिएको उनले बताए ।

‘वास्तवमा भन्नु पर्दा मैले थाइल्यान्ड राष्ट्रिय टिमको खासै अध्ययन गरेको छैन । अहिले एसियन कप छनोटमा रहेका जोर्डन, कुवेत र इन्डोनेसियमा केन्द्रीत छु,’ उनले भने, ‘यद्यपी थाइल्यान्डले इन्डोनेसियासँग खेलेको खेलको विश्लेषण गरिरहेको छु। दुई महिनाअघि उनीहरुले इन्डोनेसियासँग खेलेका थिए । थाइल्यान्डले त्यो टिममा अहिले १२ देखि १५ परिवर्तन गरिसकेका छन् ।’