काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ को एकदिवसीय सिरिजमा यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले सस्तैमा ४ विकेट गुमाएको छ । नेपालले २१ रन बनाउँदा महत्वपूर्ण ४ विकेट गुमाएको हो । नेपालले चौथो विकेटको रूपमा रोहितकुमार पौडेललाई गुमायो ।
उनी ९ रनमा आउट भए । यसअघि नेपालले कुशल भुर्तेल ५, दीपेन्द्रसिंह ऐरी शून्य र पवन सर्राफलाई २ रनमा गुमाउन पुग्यो । अहिलेसम्म यूएईका जुनैद सिद्धिकी र काशिफ दाउतले दुई–दुई विकेट लिएका छन् ।
त्यसअघि, दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनायो ।
उसका लागि रोहन मुस्तफाले अर्धशतकीय पारी खेले । उनले ७३ बलमा एक छक्का र दुई चौकाको मद्दतमा ६० रन बनाए । त्यस्तै, मोहम्मद वसीमले ३३, चिराग सुरीले २६, वृत्य अरविन्दले २४, बसिल हमीदले १७, आलीशान शराफुले २१ रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा एक मेडनसहित ३२ रन दिएर ३ विकेट लिए । त्यस्तै, सोमपाल कामी, करण केसीले दुई/दुई, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट हात पारे ।
आजको खेलमा नेपालले प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गरेको छ । आज कमलसिंह ऐरी, सागर ढकाल र आसिफ शेखलाई विश्राम दिँदै विनोद भण्डारी, विक्रम सोब र पवन सर्राफलाई मौका दिएको छ ।
जारी सिरिजमा विक्रम र पवनको यो पहिलो खेल हो । विनोदले भने पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध खेलेका थिए ।
युएईविरुद्ध नेपालको प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, विनोद भण्डारी (विकेटकीपर), रोहितकुमार पौडेल, आरिफ शेख, विक्रम सोब, करण केसी, सोमपाल कामी र पवन सर्राफ ।
















