विश्वकपमा पाकिस्तानकाे जितले भारतलाई फाइदा !

Image

काठमाडौं ।

न्यूजिल्याण्डमा जारी आइसिसी महिला एकदिवसीय विश्वकप अन्तर्गत पाकिस्तानले पहिलो जित हात पारेको छ । सोमबार भएको खेलमा वेष्ट इण्जिलाई ८ विकेटले पराजित गर्दै पाकिस्तानले पहिलो जित निकालेको हो।

पाकिस्तान र वेष्ट इण्डिजबीचको खेल वर्षाका कारण २० ओभरमा झारिएको थियो । जारी प्रतियोगितामा पाकिस्तानले पाँच खेल खेल्दा चारमा हार एकमा जित निकालेको छ।

आफ्नो पाँचौँ खेलमा वेष्ट इण्डिजले दिएको ९० रनको लक्ष्य पाकिस्तानले १८.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो। पाकिस्तानका लागि मुनीबा अलीले सर्वाधिक ३७ रन बनाइन् । त्यस्तै, सोहेलले २२ र विस्माह मारुफले अविजित २० रन बनाउँदै आफ्नो टिमलाई जित दिलाइन्।

वेष्ट इण्डिजका लागि बलिङमा एफ्टी फ्लेचर र शकेरा सेलमानले एक/एक विकेट हात पारिन्। त्यसअघि, टस हारेर अगाडि ब्याटिङ गर्ने मौका पाएको वेष्ट इण्डिजले २० ओभरमा सात विकेट गुमाएर ८९ रन बनायो।

वेष्ट इण्डिजका लागि डिआन्ड्रा डोटिनले २७, कप्तान स्टाफनी टेलरले १८ र एफ्टी फ्लेचरले नटआउट १२ रन बनाइन्।पाकिस्तानका लागि बलिङमा निदा डारले सर्वाधिक चार विकेट लिइन्। त्यस्तै, ओमाइमा सोहेल, नशरा सन्धु र फातिमा सानाले एक/एक विकेट लिइन्।

आजको जितबाट पनि पाकिस्तान २ अंकका साथ तालिकाको पुछारमा छ। त्यस्तै, आजको हारसँगै वेष्ट इण्डिज ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा कायमै रहेको छ।

पाकिस्तानको जितेले भारतलाई फाइदा

वेष्ट इण्डिजविरुद्धको पाकिस्तानको जितेले भारतलाई फाइदा भएको छ । आजको हारपछि वेस्ट इण्डिज ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । भारत ४ अंकसहित चौथो स्थानमा छ । भारतले दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्न बाँकी छ । वेस्ट इण्डिजले एक खेल खेल्न बाँकी छ । अब भारतले बाँकी खेलमध्ये एक खेल जिते पनि सेमिफाइनल पुग्ने सम्भावना जीवितै राख्नेछ ।