काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ को एकदिवसीय सिरिजअन्तर्गत अन्तिम खेलमा आज नेपालले पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल बिहान ११ः१५ देखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । जारी सिरिजको पहिलो खेलमा नेपालले पिएनजीलाई २ विकेटले हराएको थियो ।
सो खेलमा नेपाललाई पिएनजीले कडा टक्कर दिएको थियो । आजको खेलमा पनि ऊ नेपालको खराब लयको फाइदा उठाउँदै सकेसम्म जित निकाल्ने दाउमा हुनेछ । पिएनजीले पछिल्लो खेलमा घरेलु टोली यूएईलाई ७ विकेटले हराएको थियो ।
राम्रो लयमा रहेको पिएनजीलाई हराउँदै नेपाल सिरिजको सुखत अन्त्य गर्न चाहन्छ । जारी सिरिजमा तीन म्याच खेल्दा सबै खेलमा नेपालको मुख्य समस्या ब्याटिङ नै देखिएको छ । विशेष गरी टिमका शीर्षक्रमका ब्याटरले रन बनाउन सकिरहेका छैनन् । जसकारण टिमले पछिल्लो दुई खेलमा लगातार हार बेहोर्यो ।
चौथो खेलमा पनि नेपालले प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गर्न सक्छ । पिएनजीविरुद्ध नेपालले विक्रम सोब, पवन सर्राफ र आरिफ शेखलाई विश्राम दिएर युवा खेलाडीत्रय कमलसिंह ऐरी, विवेकुमार यादव र भीम सार्कीलाई मौका दिनसक्छ ।
पिएनजीविरुद्ध नेपालको सम्भावित–११ : सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, विनोद भण्डारी (विकेटकीपर), रोहितकुमार पौडेल, भीम सार्की, करण केसी, सोमपाल कामी, कमलसिंह ऐरी र विवेकुमार यादव ।













