काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ को वानडे सिरिजअन्तर्गत पपुवा न्युगिनीविरुद्ध नेपालले छैटौं विकेट लिएको छ । नेपाललाई छैटौं सफलता युवा अलराउन्डर पवन सर्राफले दिलाएका हुन् । उनले ३५.३ ओभरमा पिएनजीका कप्तान असद भालालाई ४५ रनमा आउट गरे ।
एकदिवसीय क्रिकेटमा पवनको यो पहिलो विकेट हो । योसँगै वानडेमा पहिलोविकेटको रूपमा कप्तानलाई आउट उनी दोस्रो नेपाली ब्याटर बनेका छन् । यसअघि यो उपलब्धि ज्ञानेन्द्र मल्लले हासिल गरिसकेका छन् । यही सिरिजको पहिलो खेलमा मल्लले पनि असद भालालाई नै आउट गरेका थिए ।
नेपाललाई पाँचौं सफलता कप्तान सन्दीप लामिछानेले दिलाए । उनले ३२.१ ओभरमा सेसे बउको विकेट लिएका हुन् । उनलाई लामिछानेले १९ रनमा कमलसिंह ऐरीको हाटबाट क्याच आउट गराए । नेपाललाई चौथो सफलता आरिफ शेखले दिलाएका थिए । उनले रिली हेकुरेलाई १ रनमा आउट गरे । त्यस्तै, पिएनजीको तेस्रो विकेट दीपेन्द्रसिंह ऐरीले लिए ।
उनले चार्ल् अमिनीलाई १३ रनमा पवेलिएनको दिशा देखाएका थिए । नेपाललाई दोस्रो विकेट सोमपाल कामीले दिलाए । उनले लेगा सियाकलाई ९.५ ओभरमा २० रनमा आउट गरे ।
त्यसअघि, पहिलो सफलता दिलाउने क्रममा करण केसीले पिएनजीका टोनी उरालाई ६ रनमा विनोद भण्डारीको हातबाट क्याच गराए । टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले ३६.३ ओभरमा ६ विकेट गुमाएर ११३ रन बनाएको छ ।
खेल दुबई अन्तर्राष्ट्रिय मैदानमा भइरहेको छ । नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । आसिफ शेख टिममा फर्कदा भीम सार्कीले पनि मौका पाएका छन् । अघिल्लो खेल खेलेका ज्ञानेन्द्र मल्ल र विक्रम शोब टिममा छैनन् ।
यूएईमा भइरहेको सिरिजको सुरुवाती तीनमध्ये नेपालले एक खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा पपुवा न्यूगिनीमाथि २ विकेटको जित निकालेको थियो । त्यसपछिका दुवै खेलमा नेपाललाई यूएईले हरायो ।
खराब ब्याटिङ गर्दा नेपाल पहिलो खेलमा ४८ रन र दोस्रो खेलमा ९९ रनले पराजित भएको थियो । लिग–२ को अंक तालिकामा ओमान शीर्ष स्थानमा छ । ओमानको २८ खेलबाट ३६ अंक छ । यूएई अंक तालिकामा दोस्रो स्थानमा छ । उसले १८ खेलबाट २२ अंक जोडेको छ ।
तेस्रो स्थानको स्कटल्यान्डको १२ खेलबाट १६ अंक छ । चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौं स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ । छैटौं स्थानको नेपालले ११ खेलबाट १० अंक जोड्दा पुछारको पपुवा न्यूगिनीले १५ खेलबाट २ अंक जोडेको छ ।
पिएनजीविरुद्ध नेपालको प्लेइङ: सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, भीम सार्की र पवन सर्राफ ।













