काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ को एकदिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध नेपाली टिमका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् । उनले ६३ बलमा चार चौका र एक छक्कासहित अर्धशतक पूरा गरेका हुन् ।
एकदिवसीय क्रिकेटमा कुशलको यो दोस्रो अर्धशतक हो । उनले आज ठूलो पारी खेल्न भने चुके । कुशल ५० रनमा आउट हुन पुगे । त्यसलगत्तै नेपालले दीपेन्द्रसिंह ऐरीलाई शून्य रनमै गुमाउन पुग्यो । एकै ओभरमा दुई विकेट गुमाएपछि नेपाली टिम केही दबाबमा देखिएको छ । यो समाचार तयार पार्दासम्म नेािलले २१.५ ओभरमा ३ विकेट गुमाएर ९७ रन बनाएको छ ।
पिएनजीले दिएको १७४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो प्रदर्शन गरेको छ । २१ ओभरमा नेपालले १ विकेट गुमाएर ९६ रन बनाएको छ । त्यसअघि, दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित ५० ओभर खेल्दै ८ विकेट गुमाएर १७३ रन बनायो ।
उसका लागि कप्तान असद भालाले ४५, चाड सोपरले अविजित २२, लेगा सियाकले २०, सेसे बाउले १९, नर्मन भानुले १८, काबुवा मोरियाले नटआउट १७ र चार्ल्स अमिनीले १३ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा कप्तान सन्दीप लामिछानेले १० ओभरमा २९ रन दिएर २ विकेट लिए । त्यस्तै, सोमपाल कामीले १० ओभरमा एक मेडनसहित ३७ रन दिएर २ विकेट नै हात पारे । आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ र करण केसीले एक/एक विकेट बाँडे ।
आज सबैभन्दा किफायती बलिङ आरिफले गरे । उनले १० ओभरमा एक मेडनसहित २१ रन मात्र दिएर महत्वपूर्ण एक विकेट लिए ।
















