यी हुन् क्यानले घोषणा गरेको दुवै टिममा मौका पाउने ७ खेलाडी

Image

काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार आसन्न वानडे र टी–२० सिरिजका लागि दुई टोली घोषणा गरेको छ । नेपालले शुक्रबारदेखि घरेलु मैदानमा पपुवा न्यूगिनीसँग दुई खेलको वानडे सिरिज खेल्दैछ ।

त्यसपछि नेपालले १४ चैतदेखि पिएनजी र मलेसियासँग त्रिवि क्रिकेट मैदानमै त्रिकोणात्मक टी–२० श्रृंखला खेल्ने तालिका छ । दुई सिरिजको लागि क्यानले घोषणा गरेको टोलीमा ७ खेलाडीले दुवै टिममा मौका पाएका छन् ।

कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र कमलसिंह ऐरीले दुवै टोलीमा मौका पाएका हुन् । अनिल साह, विक्रम शोब, सुशन भारी, रोहितकुमार पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा र भीम सार्कीले एकदिवसीय टिममा मात्र अवसर पाएका छन् ।

आसिफ शेख, करण केसी, अविनाश बोहरा, विवेककुमार यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी टी(२० टिममा मात्र अटाएका छन् ।

वानडे टिममा मौका पाउने युवा ब्याटर देव खनालले पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाए । उनी नेपालको यू(१९ टिमका कप्तानसमेत हुन् । त्यस्तै, अलराउन्डर आदिल अन्सारी पनि यू–१९ टिमका खेलाडी हुन् ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र विकेटकिपर विनोद भण्डारी भने यसपालि टिममा छैनन् । उनीहरूलाई टिमबाट निकालिएको नभइ सिरिजका लागि आराम दिएको क्यानले जनाएको छ ।

एकदिवसीय टिम : सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम शोब, सुशन भारी, रोहितकुमार पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा र भीम सार्की ।

टी-२० टिम : सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अबिनास बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी ।