काठमाडौं ।
जिसीसी महिला टी–२० च्याम्पियनसिप कपमा बहराइनले साउदी अरेबियाविरुद्ध ३१८ रन बनाएको छ । टी–२० क्रिकेटमा ३१८ रन कुनै पनि टिमले बनाएको हालसम्मकै उच्च स्कोर हो । यसअघि टी–२० क्रिकेटको एक पारीमा सर्वाधिक रन बनाउने लक्ष्य युगाण्डा महिला टिमको नाममा थियो ।
उसले २०१९ मा मालीविरुद्ध २० ओभरमा २ विकेट गुमाएर ३१४ रन बनाएको थियो । अब युगान्डाको सो रेकर्ड बहराइनले तोडेको छ । बहराइनले विश्वकीर्तिमान बनाएको खेलमा दीपिका रासंगिकाले ६६ बलमा ३१ चौकासहित अविजित १६१ रन बनाइन् ।
उनले टी–२० महिला क्रिकेटको एक पारीमा १५० भन्दा बढी रन बनाउने ब्याटरको कीर्तिमान पनि बनाएकी छन् । दीपिका श्रीलंकन मूलकी खेलाडी हुन् । साथै, कप्तान थरंगा गजनायकेले ५६ बलमा १७ चौकासहित ९४ रनको योगदान दिइन् । उनी पनि श्रीलंकन मूलकी खेलाडी हुन् ।
रसिका रोड्रिगो १३ रनमा अविजित रहिन् । साउदी अरेबियाकी इमान एजाजले मात्र एक विकेट लिन सकिन् । ३१९ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको साउदी अरेयिबाले २० ओभरमा ८ विकेट गुमाएर ४९ रन मात्र बनाउन सक्यो ।
उसका कुनै पनि ब्याटरले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बहराइनकी दीपिका रासंगिका, सचिनी जयसिङ्घे, पवित्रा शेट्टीले दुई/दुई र थरंगा गजनायकेले एक विकेट लिए । बहराइन र साउदी अरेबियाबीचको खेल गएराति ओमानको अलअमरेत क्रिकेट स्टेडियममा भएको हो ।













