यी हुन् यसपालि दिल्लीको बलियो र कमजोर पक्ष

Image

काठमाडौं ।

आईपीएलको १५ औं सिजन ३ दिनपछि अर्थात् २६ मार्चबाट भारतमा सुरु हुँदैछ । चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सले एकअर्काविरुद्ध खेल्दै लिगको उद्घाटन गर्ने छन् । हालसम्म चेन्नईले चार र कोलकाताले दुईपटक आईपीएल ट्रफी हात पारेका छन् ।

लिगमा लामो समेदेखि खेलिरहेका दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र पञ्जाब किंग्सले भने अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । यद्यपि यी तीन टिमले फाइनलमा भने स्थान बनाइसकेका छन् । पटकपटक फाइनल पुग्दा पनि उपाधि हात पार्न चुकिरहेको बैंग्लोर सबैभन्दा अभागी टिम मानिन्छ ।

दिल्ली र पञ्जाब पनि उपाधि हात पार्न चुकिरहेको छन् । पछिल्लो दुई सिजन दिल्लीले राम्रो प्रदर्शन गरेको छ । यसपालि पनि दिल्लीलाई उपाधि दावेदार टोलीको रूपमा हेरिएको छ । योपटक दिल्लीमा धेरै परिवर्तन छ । केही स्टार खेलाडी जोडिँदा केही महत्वपूर्ण खेलाडी बाहिरिएका छन् । यसबीच, १५ औं सिजनमा दिल्लीको कमजोर र बलियो पक्षबारे चर्चा गर्दैछौं

बलियो पक्ष

विस्फोटक ओपनिङ जोडीः टोलीमा डेविड वार्नर र पृथ्वी शा ओपनिङ ब्याटर छन् । यी दुवै खेलाडी छिटो रन बनाउनमा विश्वास गर्छन् । र, यो जोडीले पावरप्लेमा विपक्षी टोलीलाई समस्यामा पार्न सक्छ ।

वार्नर र शाबाहेक टोलीमा कप्तान ऋषभ पन्त, मन्दीप सिंह, यश धुल, रोभमान पावेल र सरफराज खान जस्ता टी–२० खेलाडी पनि छन् ।

उत्कृष्ट बलिङ लाइनअपः पछिल्लो दुई सिजनको कुरा गर्दा दिल्लीको बलिङ लाइनअप उत्कृष्ट रहेको छ । यसपटक टोलीमा कागिसो रबाडा नभए पनि एनरिक नोर्टजे, चेतन सकारिया, मुस्तफिजुर रहमान र लुंगी एनगिडी छन् । भारतीय खेलाडीहरूमा खलील अहमद र कमलेश नगरकोटी जस्ता नामहरू दिल्लीमा छन्, जसले आफ्नै गतिमा ब्याट्सम्यानहरूलाई समस्यामा पार्न सक्छन् ।

दिल्लीको कमजोरी

नोर्टजेको फिटनेसः दिल्लीले दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिक नोर्टजलाई रिटेन गरेको थियो । तर दिल्लीको लागि सबैभन्दा ठूलो कमजोरी उनको फिटनेस हुन सक्छ । नोर्टजे हाल ढाडको समस्याबाट पीडित छन् । उनले गत वर्षको टी–२० विश्वकपपछि व्यावसायिक क्रिकेट खेलेका छैनन् । सिजनमा उनी फिट नभए दिल्लीलाई ठूलो घाटा हुनसक्छ ।

कमजोर स्पिन बलिङ : गत वर्ष दिल्लीमा रविचन्द्रन आश्विन र अमित मिश्रा जस्ता चर्चित स्पिन बलर थिए । तर, यसपटक दिल्लीमा उनीहरू छैनन् । टिमले अक्षर पटेललाई रिटेन गरेको छ । साथै, दिल्लीले चाइनाम्यान कुलदीप यादवलाई अक्सनबाट किनेको थियो ।

कुलदीप पछिल्लो केही वर्षयता लयमा छैनन् । गएको ३ सिजनमा उनले १४ म्याच मात्र खेलेका छन् । यसपालि पनि उनी लयमा नदेखिए दिल्लीलाई घाटा हुनसक्छ । उनीबाहेक टोलीसँग विक्की ओस्टवाल र प्रवीण दुवे घरेलु स्पिनर । उनीहरूमा आईपीएलको खासै अनुभव छैन ।

दिल्लीले २०२० मा आईपीएल फाइनलमा स्थान बनाएको थियो । गत वर्ष पनि दिल्लीले प्लेअफको यात्रा गरेको थियो । ऋषभ पन्त, डेभिड वार्नर र पृथ्वी शाको हालको फर्मलाई हेर्दा टोलीसँग यस पटक उपाधि जित्ने राम्रो मौका छ ।

टिममा अक्षर पटेल, रोभम्यान पावेल, मिचेल मार्स र शार्दुल ठाकुर जस्ता अलराउन्डर छन् जसले ब्याट र बलमा राम्रो योगदान दिन सक्छन् । ती सबै पावर हिटिङका लागि परिचित छन् । शार्दुलले पछिल्लो समय आफ्नो ब्याटिङले सबैलाई प्रभावित पारेका छन् ।

दिल्लोको टिम : ऋषभ पन्त, अक्षर पटेल, पृाथ्वी श, एनरिक नोर्टजे, डेविड वार्नर, मिचेल मार्श, आश्विन हेब्बर,
सर्फराज खान, कमलेश नगरकोटी, केएस भरत, शार्दुल ठाकुर, मुस्तफिजुर रहमान, कुलदीप यादव,
मन्दीप सिंह, खलील अहमद, चेतन सकारिया, ललित यादव, रिपाल पटेल, यश धुल, रोभम्यान पावेल,
प्रविण दुबे, लुंगी एन्गिडी, टिम सेफर्ट र विक्की ओस्तवाल ।