काठमाडौं ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नयाँ एकदिवसीय वरियता सार्वजनिक गरेको छ । नयाँ वानडे बलिङ वरियतामा नेपालका कप्तान सन्दीप लामिछानेले पाँच स्थान सुधार गरेका छन् ।
उनी नयाँ वरियताको ६१ औं स्थानमा छन् । यसअघि सन्दीप ६६ स्थानमा थिए । बलरको वरियताको सय जनाभित्र नेपालका अन्य बलर समावेश छैनन् ।
बलरको वरियताको शीर्ष स्थानमा न्यूजिल्यान्डका ट्रेन्ट बोल्ट छन् । दोस्रो स्थानमा अस्ट्रेलियाका जोश हजलउड र तेस्रो स्थानमा इंग्ल्याण्डका क्रिस ओक्स छन् । यता एकदिवसीय ब्याट्सम्यानको वरियतामा सय जनामा नेपाली ब्याटरमा परेका छैनन् ।
ब्याटरको वरियताको शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम छन् । दोस्रो स्थानमा भारतका विराट कोहली र तेस्रो स्थानमा दक्षिण अफ्रिकाका क्वान्टन डि कक रहेका छन् ।
यी हुन् क्यानले घोषणा गरेको दुवै टिममा मौका पाउने ७ खेलाडी
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार आसन्न वानडे र टी–२० सिरिजका लागि दुई टोली घोषणा गरेको छ । नेपालले शुक्रबारदेखि घरेलु मैदानमा पपुवा न्यूगिनीसँग दुई खेलको वानडे सिरिज खेल्दैछ ।
त्यसपछि नेपालले १४ चैतदेखि पिएनजी र मलेसियासँग त्रिवि क्रिकेट मैदानमै त्रिकोणात्मक टी–२० श्रृंखला खेल्ने तालिका छ । दुई सिरिजको लागि क्यानले घोषणा गरेको टोलीमा ७ खेलाडीले दुवै टिममा मौका पाएका छन् ।
कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र कमलसिंह ऐरीले दुवै टोलीमा मौका पाएका हुन् । अनिल साह, विक्रम शोब, सुशन भारी, रोहितकुमार पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा र भीम सार्कीले एकदिवसीय टिममा मात्र अवसर पाएका छन् ।
आसिफ शेख, करण केसी, अविनाश बोहरा, विवेककुमार यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी टी-२० टिममा मात्र अटाएका छन् ।
वानडे टिममा मौका पाउने युवा ब्याटर देव खनालले पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाए । उनी नेपालको यू(१९ टिमका कप्तानसमेत हुन् । त्यस्तै, अलराउन्डर आदिल अन्सारी पनि यू–१९ टिमका खेलाडी हुन् ।
पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र विकेटकिपर विनोद भण्डारी भने यसपालि टिममा छैनन् । उनीहरूलाई टिमबाट निकालिएको नभइ सिरिजका लागि आराम दिएको क्यानले जनाएको छ ।
एकदिवसीय टिम : सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम शोब, सुशन भारी, रोहितकुमार पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा र भीम सार्की ।
टी-२० टिम : सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अबिनास बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी ।
















