१४ वर्षपछि थाइल्याण्डसँग भिड्दै नेपाल, यस्तो छ हालसम्म ‘हेड टु हेड’ नतिजा

Image

काठमाडौं ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बिहीबार बलियो एसियाली राष्ट्र थाइल्याण्डविरुद्ध खेल्दैछ । नेपाल र थाइल्याण्डबीचको खेल अपरान्ह ५ः४५ देखि चोनबुरी स्टेडियममा सुरु हुनेछ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारी स्वरूप यी दुई टोलीले एकअर्काको सामना गर्न लागेका हुन् ।

फिफा वरियतामा थाइल्याण्ड ११२ औं र नेपाल १६७ औं स्थानमा छ । उमेर समूह र अन्तर्राष्ट्रिय खेल गरी नेपाल र थाइल्याण्ड आठौंपटक एकअर्काविरुद्ध खेल्न लागेका हुन् । हालसम्म सात म्याचमा नेपालले एक खेलमा मात्र थाइल्याण्डलाई हराउन सकेको छ । बाँकी ६ खेलमा भने नेपालले थाइल्याण्डसँग हार बेहारेको छ ।

सन् २००८ यता नेपाल र थाइल्याण्डले एकअर्काविरुद्ध खेलेका छैनन् । सो वर्ष नेपालले थाइल्याण्डको घरेलु मैदानमा मैत्रीपूर्ण म्याच खेलेको थियो । जहाँ नेपाल थाइल्याण्डविरुद्ध ७–० गोल अन्त्रले पराजित हुन पुग्यो ।
त्यस्तै, सन् १९९८ र १९८२ गरी थाइल्याण्डविरुद्ध नेपाल क्रमशः ३–१ र २–० गोल अन्तरले पराजित हुन पुग्यो ।

२ दशकअघि र अहिले नेपाल र थाइल्याण्डको फुटबल खेल्ने शैलीमा धेरै परिवर्तन आएको छ । वरियतामा निकै माथि रहे पनि आधुनिक फुटबलमा कमजोर टोलीले पनि बलिष्यो टिमलाई हराएको उदाहरण प्रशस्त छन् । त्यसकारण वरियतामा माथि रहेको भन्दैमा नेपालले थाइल्याण्डविरुद्ध आत्मविश्वास मनोबल कम गर्नुहुन्न ।

यद्यपि, थाइल्याण्डविरुद्ध जित निकाल्न नेपाललाई सहज भने पक्कै छैन । पछिल्लो ८ खेलमा अपराजित रहेको थाइल्याण्डले केही वर्षयता साउथ इस्ट एसिया फुबटलको बादशाहका रूपमा चिनाइसकेको छ । भियतनाम, सिङ्गापुर र इण्डोनेसिया जस्ता उच्चस्तरीय राष्ट्रलाई पराजित गर्दै थाइल्याण्डले सन् २०२०/२१ को एएफएफ उपाधि पनि हात पारिसकेको छ ।

यता नेपाली टोली कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आगमनसँगै केही लयमा देखिएको छ । नेपालले कत महिना मोरिससविरुद्ध खेलेको दुई खेलमा जित निकालेको थियो । सो जितपछि नेपालले वरियतामा २ स्थान पनि सुधार गर्‍यो ।

अफ्रिकी देश मोरिससविरुद्ध शतप्रतिशत जित निकालेको नेपाली टिम यसपालि उच्च मनोबलमा छ । पछिल्लो केही अन्तर्रास्ट्रिय खेलमा देखाएको प्रदर्शनलाई आधार मान्ने हो भने बलियो भनिएको थाइल्याण्डलाई नेपालले टक्कर सदन सक्छ ।

यद्यपि, टिममा विमल घर्तिमगर, सुनिल बल, मनीष डाँगी, सुजल श्रेष्ठ जस्ता अब्बल फरवार्ड भने छैनन् । केही दिनमा मछिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने भएकाले उनीहरूले थाइल्याण्डसँगको म्याच गुमाएका हुन् ।

नेपाल र थाइल्याण्डबीचको खेल यो समाचार तयार पार्दासम्म नेपाली टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भन्नेबारे आधिकारिक जानकारी आइसकेको छैन । थाइल्याण्डमा भने स्थानीय टेलिभिजन थाइरथ टीभीले प्रत्यक्ष प्रशारण गर्नेछ । नेपालले थाइल्याण्ड भ्रमणअन्तर्गत दोस्रो खेलमा त्यहाँको चोनबुरी क्लबसँग १३ चैतमा खेल्नेछ ।