बंगलादेशविरुद्ध नेपालको अग्रता कायमै, अमिशाले गरिन् सुन्दर गोल

Image

काठमाडौं ।

भारतमा जारी साफ यू-१८ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम खेलमा अहिले बंगलादेशविरुद्ध खेलिरहेको छ । नेपाल–बंगलादेशबीचको खेल जमसेदपुरस्थित जेआर्डी टाटा स्पोर्ट्स कम्प्लेक्समा भइरहेको हो । बंगलादेशविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

पहिलो हाफ सकिँदा नेपाल १–० ले अगाडि छ । नेपालले चौथो मिनेटमै अग्रता लियो । नेपाललाई अमिशा कार्कीले बंगलादेशी गोलरक्षकलाई झुक्याउँदै सुन्दर गोल गरिन् । बंगलादेश गत संस्करण विजेता टोली हो । जारी प्रतियोगितामा दोस्रो खेलमा नेपाल बंगलादेशसँग ४–२ ले पराजित भएको थियो ।

आजको खेल जिते नेपालले इतिहास रच्नेछ । नेपालले खेल जितेमा साफमा बंगलादेशविरुद्ध नेपालको पहिलो जित हुनेछ । हालसम्म यू–१८ साफमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन । नेपालले पहिलो र तेस्रो खेलमा भारतसँग क्रमशस् ७–० र ५–१ को हार बेहोरेको थियो ।

बंगलादेश भने नेपालविरुद्धको जितलाई कायम राख्ने सोचमा छ । उसले दोस्रो खेलमा भारतसँग १–० को हार बेहोरेको थियो । ३ खेलमा अंकविहीन नेपाल पुछारमा रहँदा बंगलादेश २ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।