काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकट टिमका अलराउन्डर करण केसीलाई आज टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ उपलब्धि हासिल गर्ने मौका छ । उनलाई घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० श्रृंखलाको आफ्नो तेस्रो खेलमा पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध नयाँ उपलब्धि हासिल गर्ने मौका रहेको हो ।
यदि आज एक विकेट लिनसके करणले टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने छन् । हालसम्म उनले ३५ खेलमा ७.४५ को इकोनमीमा ४९ विकेट लिएका छन् । करण नेपालको तर्फबाट टी–२० मा सर्वाधिक विकेट लिने दोस्रो बलर हुन् ।
यो प्रारूपमा उनको उच्च बलिङ प्रदर्शन १७ रन दिएर ४ विकेट लिनु हो । करणअघि कप्तान सन्दीप लामिछाने मात्र छन् । लामिछानेले ६.२६ को इकोनमीमा सर्वाधिक ६७ विकेट लिएका छन् । त्यस्तै, यो सूचीको तेस्रो स्थानमा अविनाश बोहरा छन् ।
उनले ३२ पारीमा ६.७१ को इकोनमीमा ३८ विकेट लिएका छन् । त्यस्तै, टी–२० मा सर्वाधिक विकेट लिने नेपाली बलरको सूचीमा सोमपाल कामीको नाम चौथो स्थानमा छ । उनले ३५ खेलमा ७ को इकोनमीमा ३२ विकेट लिएका छन् ।
त्रिकोणात्मक सिरिजअन्तर्गत आज नेपालले पिएनजीविरुद्ध खेल्दैछ । नेपाल–पिएनजीबीचको खेल मध्यान्ह साढे १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । आज नेपाल आफ्नो ५० औं अन्तर्राष्ट्रिय टी-२० म्याच खेल्न लागेकाे हो ।
यो महत्वपूर्ण खेल जित्दै नेपाल इतिहास रच्न चाहन्छ । साथै, आजको खेल जिते नेपाल एक म्याच अगावै सिरिजको फाइनलमा पनि पुग्नेछ । पहिलो र दोस्रो खेलमा नेपालले क्रमशः पिएनजी (१५ रन) र मलेसियालाई ६ विकेटले हराएको थियो ।
नेपाल लगातार तेस्रो जित निकाल्दै लय कायमै राख्न चाहन्छ । पिएनजी भने पहिलो जितको खोजीमा छ । अंक जोड्न नसकेको ऊ तालिकाको पुछारमा छ ।
यो पनि पढौं– मान्यता नपाएको करणको त्यो ‘ह्याट्रिक’
यो पनि पढौं– विराटका कारण यी युवकको गर्लफ्रेण्डसँग भयो ब्रेकअप