काठमाडौं ।
टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले पाहुना टोली पपुवा न्यूगिनी (पिएनजी) लाई २०४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनायो ।
टी–२० क्रिकेटमा पिएनजीलाई नेपालले दिएको यो हालसम्मकै ठूलो योगफल हो । यसअघि यही सिरिजमा नेपालले पिएनजीलाई १८४ रनको लक्ष्य दिएको थियो । सिरिजअन्तर्गत तेस्रो खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेले । चौथो अर्धशतक बनाउने क्रममा उनले ३३ बलमा चार छक्का र तीन चौकासहित ६६ रनको योगदान दिए ।
योसँगै दीपेन्द्रले नेपालको तर्फबाट टी–२० मा सर्वाधिक अर्धशतक बनाउने मामलामा पूर्वकप्तान पारस खड्काको रेकर्ड बराबर गरेका छन् । पारसले पनि यो प्रारूपमा ४ अर्धशतक बनाएका छन् । टी–२० मा सर्वाधिक अर्धशतक बनाउने नेपाली ब्याटरको शीर्षमा भने कुशल भुर्तेल छन् । उनले हालसम्म सर्वाधिक ५ अर्धशतकीय पारी खेलेका छन् ।
त्यस्तै, आज डेब्यू गरेका मोहम्मद आदिल आलमले पनि शानदार पारी खेले । उनले ११ बलमा एक चौका र तीन छक्कासहित ३१ रनको योगदान दिए । रोहितकुमार पौडेलले शानदार ब्याटिङ गरे । उनले २३ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४१ रन बनाए ।
आसिफ शेखले २९ बलमा चार चौका र एक छक्कासहित ३८ रनको योगदान दिए । कुशल भुर्तेल १७ रनमा आउट भए । उनले २१ बलमा दुई चौकाको मद्दतमा १७ रन बनाएका हुन् ।
करण केसी १ र दिलिप नाथ भने शून्यमै आउट भए । नेपालले आज आफ्नो पारीमा कूल १० छक्का र १४ चौका प्रहार गर्यो । पिएनजीका काबुआ मोरियाले तीन, रिले हेकुरेले दुई, नौसेना पोक्वाना र नोमर्न भानुआले एक/एक विकेट लिए ।
















