मुम्बईविरुद्धको ‘कीर्तिमानी ब्याटिङ’पछि आफैं अचम्ममा परे कमिन्स, दिए यस्तो प्रतिक्रिया

Image

काठमाडौं ।

प्याट कमिन्सको कीर्तिमानी अर्धशतकको मद्दतमा कोलकाता नाइट राइडर्स (केकेआर) ले जारी आईपीएलको १४ औं खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले हरायो । पुणेको एमसीए स्टेडियममा पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६१ रन बनाएको थियो ।

जवाफमा केकेआरले १६ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । उसका लागि कमिन्सले १५ बलमा ६ छक्का र ४ चौका प्रहार गरे । यो आक्रामक पारी लागि उनी म्यान अफ द म्याचसमेत घोषित भए ।

खेलपछि कमिन्सले भने, ‘म यो इनिङ्सले अचम्मित भएको छु । मैले धेरै सोचेको थिइनँ । यो साँच्चै सन्तोषजनक छ । बल हावामा तैरिरहेको देखिन्छ । त्यसैले सर्ट साइडले बललाई हिट गरिरहेको थियो । मलाई विश्वास छ कि यसले सन्देश पठाएको हुनुपर्छ । हामी भाग्यशाली छौं कि गत वर्षको प्रभावशाली टोलीलाई कायम राख्न सक्षम छौं । यो प्रदर्शनबाट धेरै खुसी छु ।’

कमिन्सले मेगा अक्सनपछि टोलीमा गत वर्षको तुलनामा धेरै परिवर्तन भएको पनि बताए । ‘यसपालि पनि प्रतिभाको राम्रो मिश्रण छ । र, म खेलाडीहरूसँग धेरै सहज छु,’ उनले भने ।

राहुलको कीर्तिमान बराबर

कमिन्सले सबैभन्दा छिटो अर्धशतक प्रहार गर्नेमा केएल राहुलको बराबरी गरेका छन् । लिगको इतिहासमा सबैभन्दा छिटो अर्धशतक बनाउने मामलामा अब राहुलसँगै कमिन्सको नाम पनि जोडिएको छ ।

केकेआरका लागि कमिन्स सातौं नम्बरमा ब्याटिङमा आएका थिए । र, छिटो ब्याटिङ गर्दै उनले १४ बलमा अर्धशतक बनाए । उनले १५ बलमा अविजित ५६ रन बनाए । कमिन्सले शानदार ब्याटिङका क्रममा डानियल साम्सको एक ओभरमा ३५ रन बनाए । उनले यही ओभरमा टोलीलाई जित पनि दिलाए ।

यो पनि पढौं– दीपेन्द्रको कप्तानीमा भारतविरुद्ध नेपालको त्यो ऐतिहासिक जित…