काठमाडौं ।
भारतविरुद्ध नेपालले जित निकालेकाे विरलै मात्र देख्न पाइन्छ । अझ भनौं खेलकुदमा नेपालले भारतलाई हराउनु विश्वकपमा पुग्नु जस्तै हो । नेपालले भारतविरुद्ध प्रायः सबै खेलमा हारको सामना गर्दै आएको छ ।
क्रिकेट, फुटबल होस् भलिबल जहाँ पनि भारतसामु नेपाल कमजोर नै देखिन्छ । तर, २०१७ मा फर्कने हो भने नेपालले भारतलाई हराएको विगत छ । २०१७ को १२ नोभेम्बर नेपाली क्रिकेटका लागि अविस्मरणीय दिन रह्यो । एसिसी यू–१९ एसिया कपअन्तर्गत भएको भएको सो खेलमा नेपालले भारतलाई १९ रनले हरायो ।
क्रिकेटको ठूलो प्रतियोगितामा नेपालले भारतलाई हराएको त्यो नै पहिलोपटक हो । हालसम्म पनि त्यो ऐतिहासिक जितको चर्चा हुने गर्छ । भारतविरुद्ध नेपाललाई ऐतिहासिक जित दिलाउन दीपेन्द्रसिंह ऐरी ‘हिरो’ सावित भए । सो खेलमा उनी कप्तानकाे भूमिकामा पनि थिए ।
उक्त खेलमा नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारतले ४८.१ ओभरमा सबै विकेट गुमाएर १६६ रन मात्रै बनाउन सक्यो । उसका लागि कप्तान हिमांशु राणाले ४६, मनजोत कालराले ३६, अभिषेक शर्माले २७, अनुज रावतले १८ र अर्थभ ताडेले १३ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
भारतलाई १६६ रनमै समेट्नमा दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गरे । उनले १० ओभरमा २ मेडनसहित ३९ रन दिएर सर्वाधिक चार विकेट लिए । त्यस्तै, शाहब आलम, पवन सर्राफले दुई/दुई, सन्दीप लामिछाने र कमलसिंह ऐरीले एक/एक विकेट लिए ।

त्यसअघि क्वालालम्पुरस्थित बायुमस ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे । उनले १०२ बलमा ६ चौका र दुई छक्कासहित सर्वाधिक ८८ रन बनाए । त्यस्तै, ओपनर जितेन्द्र ठकुरीले ३६ र भीम सार्कीले १५ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
सो खेलमा भारतविरुद्ध भीम (१) र दीपेन्द्र (२) ले मात्र छक्का हिर्काउन सकेका थिए । भारतका लागि अभिषेक शर्मा, आदिथ्य ठाकरेले दुई/दुई, मन्दीप सिंह, अथर्भ ताडे, शिव सिंह र विवेकानन्द तिवारीले एक/एक विकेट लिए । भारतलाई हराउन नायक सावित भएका दीपेन्द्रले बलिङ र ब्याटिङ मात्र होइन फिल्डिङका दौरान दुई क्याच पनि पक्रिएका थिए ।
यो पनि पढौं– यी हुन् रचना रिमाललाई मनपर्ने क्रिकेट र फुटबल खेलाडी
यो पनि पढौं– नेपालको जर्सीका साथ आईपीएल हेर्दै समर्थक, को हुन् ‘भाइरल’ युवती?
