Khabar Board

यी चार नेपाली ब्याटर, जो जिम्बाब्वेविरुद्ध शतक बनाउन सक्छन्

काठमाडौं ।

केही दिनमा नेपालले टेष्ट टोली जिम्बाब्वेसँग सिरिज खेल्दैछ । नेपालले जिम्बाब्वे ‘ए’ सँग समान तीन खेलको एकदिवसीय र टी–२० सिरिज खेल्न लागेको हो । नेपाल र जिम्बाब्वेबीचको वानडे सिरिज आउँदो शनिबारदेखि सुरु हुनेछ ।

लिस्ट ‘ए’ को मान्यता नपाए पनि यो सिरिज नेपाली टिमको अभ्यासका लागि राम्रो अवसर हुनसक्छ । जिम्बाब्वेपछि नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिज खेल्ने तालिका छ । जिम्बाब्वेविरुद्धको सिरिजका लागि नेपाली टिममा सुनिल धमला, विनोद भण्डारी, किशोर महतो, सुशन भारी, साहब आलमलगायतले कमब्याक गरेका छन् ।

सिरिजमा उनीहरूको प्रदर्शन हेर्न लायक हुनेछ । साथै, घरेलु मैदानमा खेलिरहेकाले नेपाली खेलाडीलाई जिम्बाब्वेविरुद्ध शतक बनाउने मौका पनि छ । यसैबीच, आज जिम्बाब्वे ‘ए’ सँगको श्रृंखलामा शतक बनाउनसक्ने चार नेपाली ब्याटरको चर्चा गर्दैछौँ :

१. दीपेन्द्रसिंह ऐरी

पछिल्लो समय नेपाली टिमका महत्वपूर्ण ब्याटर दीपेन्द्रसिंह ऐरी शानदार लयमा छन् । उनले सोही लय जिम्बाब्वेविरुद्ध पनि कायमै राख्नेमा समर्थक आशावादी छन् । साथै, समर्थकले यसपालि पनि दीपेन्द्रको ब्याटबाट शतकको आशा राखेका छन् ।

केही समयअघि मात्र पपुवा न्यूगिनीविरुद्धको सिरिजमा पनि उनले शतक बनाएका थिए । एकदिवसीयमा ब्याटिङ गर्न प्रशस्त समय मिल्ने भएकाले पनि ऐरीलाई शतक बनाउने मौका छ । साथै, उनले यसपालि घरेलु मैदानको फाइदा पनि उठाउन सक्छन् ।

२. रोहितकुमार पौडेल

१९ वर्षीय रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने नेपाली ब्याटर हुन् । उनले हालसम्म यो प्रारूपमा १७ म्याचमा चार अर्धशतक र एक शतकको मद्दतमा ६२३ रन बनाएका छन् ।

शानदार एकदिवसीय करियर बनाएका रोहितले जिम्बाब्वेविरुद्ध पनि ठूलो पारी खेल्न सक्छन् । उनले गत १ चैतमा त्रिवि मैदानमा पिएनजीविरुद्ध शतक बनाएका थिए । साथै, रोहितले घरेलु क्रिकेटमा पनि राम्रो प्रदर्शन गरिरहेका छन् । त्यही लय कायमै राखे उनले जिम्बाब्वे ‘ए’ विरुद्धको सिरिजमा पनि शतक बनाउन सक्छन् ।

३. देव खनाल

अर्का युवा ब्याटर देव खनालले पनि घरेलु मैदानमा राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले पिएनजीसँगको डेब्यूमा शून्यमै आउट भए पनि दोस्रो खेलमा शानदार कमब्याक गरेका थिए । दोस्रो म्याचमा देवले ७२ रनको उत्कृष्ट पारी खेलेका थिए ।

राम्रो लयमा रहेकाले उनले पनि जिम्बाब्वेविरुद्ध शतक बनाउन सक्छन् । ओपनिङ ब्याटर भएकाले देवलाई त्यो मौका पनि छ । उनले त्रिवि मैदानमा लगातार रन बनाउँदै आएका छन् ।

४. कुशल भुर्तेल

टी–२० अन्तर्राष्ट्रियमा कुशलले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । तर, पछिल्लो समय भने उनले यो प्रारूपमा पनि ठूलो पारी खेल्न सकिरहेका छैनन् । यसपालि भने कुशललाई सम्हालिएर खेल्दै शतक बनाउने मौका छ ।

टियू मैदानमा उनले पनि राम्रो खेल्दै आएका छन् । आक्रामक ब्याटिङ गर्दै एक्लै पनि खेल जिताउने क्षमता भएका कुशलबाट यसपालि शतकको अपेक्षा गर्नु स्वभाविक नै होला । हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा उनले दुई अर्धशतक बनाएका छन् । जसमा कुशलको उच्च स्कोर ८४ रन हो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.