कस्तो छ वानडे विश्वकपमा छनोट हुने बाटो? नेपालको सम्भावनाबारे यस्तो लेख्छ आईसीसी

Image

काठमाडौं ।

२०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटको रोडम्यापको रूपमा रहेको सुपर लिग र लिग–२ का खेल जारी छन् । सुपर लिगमा आईसीसीको १२ टिम र एसोसिएट राष्ट्र नेदरल्याण्ड्सहित १३ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

एकदिवसीय शीर्ष २० वरियतामा पर्ने सात टिमले लिग–२ खेलिरहेका छन् । लिग–२ मा नेपालसहित ओमान, स्कटल्याण्ड, यूएई, नामिबिया, अमेरिका र पपुवा न्यूगिनी (पीएनजी) ले प्रतिस्पर्धा गरिरहेका छन् । सुपर लिगका टिम सिधै विश्वकपमा छनोट हुनका लागि खेलिरहेका छन् ।

नेपाललगायत सात राष्ट्र भने एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोटमा पुग्नका लागि प्रतिस्पर्धा गरिरहेका हुन् । लिग–२ मा प्रत्येक टिमले कूल ३६ म्याच खेल्न पाउँछ । हालसम्म नेपालले तीनवटा श्रृंखला खेलेको छ । जसमा नेपालले ६ मा हार र ६ खेलमा जित हात पारेको छ । नेपाल अहिले अंक तालिकाको छैटौं स्थानमा छ ।

सुपर लिगमा खेल्ने १३ टिममध्ये भारत आयोजकको नाताले यसअघि नै विश्वकपमा पुगिसकेको छ । त्यस्तै, उत्कृष्ट सात टिमले पनि सिधै विश्वकपमा स्थान बनाउने छन् । लिग–२ मा खेल्ने सबै टिमलाई अन्तिम चरणको छनोटमा पुग्ने मौका छ । तर, शीर्ष तीनमा रहने टोलीले मात्र विश्वकप छनोट खेल्न पाउने छन् । त्यसपछिका चार टिमले भने छनोटमा पुग्नका लागि प्लेअफ खेल्नु पर्नेछ ।

यी चार टिमले लिग–२ भन्दा तल्लो दर्जाको प्रतियोगिता च्यालेन्ज लिगको दुई समूहको विजेतागरी ६ टिम समावेश छनोट प्लेअफ खेल्न पाउनेछन् । यसबाट उत्कृष्ट दुई टिम मुख्य छनोटमा पुग्नेछन् । जहाँ सुपर लिगको पुछारका ५ टिम, लिग–२ को शीर्ष ३ टिम र प्लेअफ छनोटको उत्कृष्ट २ टिम गरी १० टिमले विश्वकप पुग्नका लागि प्रतिस्पर्धा गर्नेछन् । यसबाट शीर्ष दुई टोलीले मात्र विश्वकपमा स्थान बनाउनेछन् ।

लिग–२ को धेरै सिरिज सकिनै लाग्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टिमको अवस्थाको बारेमा एउटा सामग्री तयार पारेको छ । सो सामग्रीमा आईसीसीले नेपालको सम्भावनाबारे पनि उल्लेख गरेको छ । आईसीसीले विश्वकप लिग–२ मा नेपालको अवस्था सन्तुलित रहेको औंल्याएको हो । यसको अर्थ आईसीसीले विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना पनि रहेको उल्लेख गरेको हो ।

नेपालले अहिलेसम्म १२ खेल खेल्दा ५० प्रतिशत खेल जितेको छ । लिग–२ मा नेपाल सबैभन्दा कम म्याच खेल्ने टिम हो । आईसीसीले पछिल्लो तीन वर्ष नेपालको प्रशिक्षक र कप्तान परिवर्तनसँगै प्रदर्शनमा निरन्तरता दिन नसकेको पनि उल्लेख गरेको छ ।

नेपालको विषयमा आईसीसीले लेखेको छ, ‘नेपाली क्रिकेटमा तीन वर्ष लामो समय हो । प्रशिक्षक र कप्तान परिवर्तनसँगै १२ खेलमा २३ खेलाडीले टोलीको प्रतिनिधित्व गरेका छन्, र निरन्तरताको अभावले उदासीन अभियान निम्त्याएको छ ।