काठमाडौं ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालसहित तीन टिमले खेल्ने एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले अमेरिका र ओमानविरुद्ध सिरिज खेल्न लागेको हो ।
यो सिरिज आगामी जुनमा अमेरिकामा हुनेछ । खेल तालिकाअनुसार नेपालले पहिलो खेलमा ओमानको सामना गर्नेछ । नेपाल–ओमानबीचको खेल ९ जुनमा हुनेछ । नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध खेल्नेछ । यी दुई टिमबीचको खेल ११ जुनमा हुनेछ ।
नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध खेल्नेछ । खेल १४ जुनमा हुनेछ । अन्तिम तथा चौथो खेलमा नेपालले अमेरिकाको सामना गर्नेछ । नेपाल र अमेरिकाबीचको खेल १५ जुनमा हुनेछ । लिग–२ मा हालसम्म नेपालले १२ म्याच खेलेको छ ।
जसमा नेपालले ६ मा जित र ६ खेलमा हार बेहोरेको छ । हाल नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । लिग–२ मा नेपालसहित ओमान, स्कटल्याण्ड, यूएई, नामिबिया, अमेरिका र पपुवा न्यूगिनी (पीएनजी) ले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाललगायत सात राष्ट्र भने एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोटमा पुग्नका लागि प्रतिस्पर्धा गरिरहेका हुन् ।
लिग–२ मा प्रत्येक टिमले कूल ३६ म्याच खेल्न पाउँछ । लिग–२ काे शीर्ष तीनमा रहने टोलीले विश्वकप छनोट खेल्न पाउने छन् । त्यसपछिका चार टिमले भने छनोटमा पुग्नका लागि प्लेअफ खेल्नु पर्नेछ । यी चार टिमले लिग–२ भन्दा तल्लो दर्जाको प्रतियोगिता च्यालेन्ज लिगको दुई समूहको विजेतागरी ६ टिम समावेश छनोट प्लेअफ खेल्न पाउनेछन् ।
यसबाट उत्कृष्ट दुई टिम मुख्य छनोटमा पुग्नेछन् । जहाँ सुपर लिगको पुछारका ५ टिम, लिग–२ को शीर्ष ३ टिम र प्लेअफ छनोटको उत्कृष्ट २ टिम गरी १० टिमले विश्वकप पुग्नका लागि प्रतिस्पर्धा गर्नेछन् । यसबाट शीर्ष दुई टोलीले मात्र विश्वकपमा स्थान बनाउनेछन् ।