काठमाडौं ।
लामो समय भारतीय आर्मी टिमबाट खेलिरहेका गोलरक्षक भवीन्द्र मल्ल ठकुरी नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा जोडिएका छन् । एन्फासँगको छलफलपछि उनी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा जोडिएका हुन् ।मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले क्याम्प छोड्ने १० खेलाडीलाई तत्काल टिममा नराख्ने बताएपछि गोलरक्षकको रूपमा भवीन्द्रलाई टोलीमा राखिएको हो ।
साथै, किरण चेम्जोङले पनि विद्रोह गर्ने खेलाडीको मागलाई समर्थन जनाएपछि उनीसँग अल्मुताइरी असन्तुष्ट देखिएका छन् । त्यस्तै, पछिल्लोपटक राष्ट्रिय टिममा बोलाएका गोलरक्षक विकेश कुथुले पनि नखेल्ने घोषणा गरेपछि उनीहरूको विकल्पमा अलमुताइरीले भवीन्द्रलाई नेपाल बोलाइएको बताइएको छ ।
एन्फाका अनुसार २९ वर्षीय भवीन्द्र भारतीय आर्मीको रेड फुटबल टिमबाट खेल्दै आएका छन् । उक्त क्लबमा उनी ५ वर्षदेखि आवद्ध छन् । बन्द प्रशिक्षणमा रहँदा रोहित चन्दसँग प्रशिक्षक अलमुताइरीको विवाद हुँदा विशाल राई, अनन्त तामाङ, तेज तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, दिनेश राजवंशी, सुमन लामा, सुजल श्रेष्ठ, विमल घर्तीमगरलगायत महत्वपूर्ण सदस्य अहिले टोली बाहिर छन् ।
उनीहरूको स्थानमा अल्मुताइरीले भवीन्द्रसहित नयाँ खेलाडी बोलाइसकेका छन् । उनी क्याम्प छोड्ने हरेक खेलाडीको विकल्प खोजिरहेको बताइएको छ । खेलाडी र प्रशिक्षकबीचको विवाद उत्कर्षमै रहे पनि प्रशिक्षण भने रोकिएको छैन । बरु एन्फाले क्यामरुनी क्लब एभेनिर एफसीसँग मैत्रीपूर्ण म्याच खेलाइरहेको छ ।
दुई म्याच खेल्दा नेपाली टिमले एभेनिर एफसीविरुद्ध गोल भने गर्न सकेको छैन । मैत्रीपूर्ण खेलमा टिमको कप्तानी नवयुग श्रेष्ठले गरिरहेका छन् । साथै, मनिष डाँगी, सुनिल बल, पूजन उपरकोटी, सुरज ज्यू ठकुरी, आयुष घलान, जर्ज प्रिन्स कार्की, सञ्जोक राई, सुमन अर्याल, दर्शन गुरुङ, एरिक विष्ट, दीप कार्की, विकास खवास, एरिक विष्ट, लेवन्द्र तामाङलयागत खेलाडी प्रशिक्षणमा व्यस्त छन् ।
नेपालले आगामी जेठ ११ र जेठ १५ मा अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले एसियन कपको छनोटअघि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यो खेल कतारमा हुनेछ । एक महिना स्वदेशमा अभ्यास गरेपछि नेपाली टिम कतार जाने कार्यक्रम छ ।
एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ । समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन् । समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ ।
नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन् । खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन् । नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ ।