काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) को ५३ औं खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्स (केकेआर) लाई १७७ रनको लक्ष्य दिएको छ । पुणेस्थित महाराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको लखनउले निर्धापरत २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनायो ।
उसका लागि क्विन्टन डिककले २९ बलमा चार चौका र तीन छक्कासहित ५० रन बनाए । त्यस्तै, दीपक हूडाले २७ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४१ रनको पारी खेले । मार्कस स्टोइनिसले १४ बलमा तीन छक्का र एक चौकाको मद्दतमा २८ रनको योगदान दिए । उनले खेलको १९ औं ओभरमा शिवम माविको बलमा लगातार तीन छक्का हिर्काए ।
चौथो बलमा भने स्टोइनिस क्याच आउट भए । तर, पाँचौं र छैटौं बलमा जेसन होल्डरले लगातार दुई छक्का हिर्काए । स्टोइनिस र होल्डरले यो ओभरमा कुल ३० रन बनाए । आयुष बदोनीले अविजित १५ र होल्डरले १३ रनको योगदान दिए । केकेआरका लागि आन्द्रे रसेलले दुई, टिम साउथी, शिवम मावी, र सुनिल नारायणले एक/एक विकेट लिए ।